‘जारी २ः सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ आजदेखि प्रदर्शनमा
टुरिजमफेस
काठमाडौं । लिम्बू संस्कृति बोकेको चलचित्र ‘जारी २ ः सङ अफ च्याब्रुङ’ र सामाजिक सन्देश बोकेको ‘मन बिनाको धन’ एकसाथ आजदेखि प्रदर्शनमा आएका छन् ।
यी दुवै चलचित्रले दर्शकलाई मनोरञ्जन दिने अपेक्षा गरिएको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको ‘जारी २ः सङ अफ च्याब्रुङ’ यसअघि विसं २०८० मा प्रदर्शन भएको ‘जारी’ को दोस्रो शृङ्खला हो । लिम्बू समुदायको च्याब्रुङ नृत्य र सांस्कृतिक पहिचानलाई केन्द्रित गरेको चलचित्रले माओवादी द्वन्द्वको समयमा एक दम्पतीको जीवनमा आउने उतारचढावको कथालाई चित्रण गरेको छ ।
यसैगरी आजदेखि नै प्रदर्शन भएको दोस्रो चलचित्र ‘मन बिनाको धन’ बालगायक अशोक दर्जीको जीवन र सङ्घर्षलाई समेटेर तयार पारिएको छ । गायक दर्जीलाई सडकबाट उद्धार गरेर गायनसम्ममा साथ दिएका सङ्गीतकार तथा गायक टङ्क बुढाथोकीले निर्देशन गरेको उक्त चलचित्रमा वर्तमान समाजमा मन र धनबीचको टकरावलाई चित्रण गर्दै गायक दर्जीको ‘जिरोबाट हिरो’ बन्ने यात्रालाई देखाइएको छ ।
“सडकमा गीत गाउँदै हिँड्ने गायक दर्जीको जीवन परिवर्तन गरेको कथा चलचित्रमा ल्याएको छु । यो पूर्णतया उनकै जीवनी होइन, यसलाई हामीले चलचित्रकै रुपमा तयार गरेका छौँ तर मूलभूत घटनाक्रम उनकै जीवनको लिइएको छ । यो चलचित्रले गायक दर्जीको जीवनीसँग परिचित गराउँदै मनोरञ्जन पनि दिन्छ,” निर्देशक बुढाथोकीले भने । गायक दर्जी हाल कक्षा ९ मा अध्ययनरत रहेकाले चलचित्रका रुपमा यो उमेरका लागि यही पहिलो र अन्तिम हुने उनले बताए ।
