नेपालद्वारा अमेरिकाविरुद्धको ३ खेलको टी-२० सिरिज ‘क्लिनस्वीप’
काठमाडौं । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी-२० आई सिरिज क्लिनस्वीप (३-०) गरेको छ ।
तेस्रो खेलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले सिरिजमा तीनै खेल जित्दै क्लिनस्वीप गरेको हो । पहिलो खेलमा अमेरिकाविरुद्ध १७ रनको जित निकालेको नेपालले दोस्रो खेल भने सुपरओभरमा जितेको थियो ।
आज बिहान भएको तेस्रो तथा अन्तिम खेलमा अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै सिजिर क्लिनस्वीप गरेको हो ।
नेपालका आसिफ शेख ५० र अनिल शाह १३ रनमा आउट हुँदा कुशल मल्ल ४४ र कुशल भुर्तेल ४० रनमा अविजित रहे ।
अमेरिकाका जुवानाय ड्राइसडेल र जसदीप सिंहले एक/एक विकेट लिए ।
यसअघि डालसमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन बनाएको थियो ।
अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले ६८, मिलिन्ड कुमारले ४३, आरोन जोन्सले १३ रन र हरमीत सिंहले १० रन जोडे का थिए ।
नेपालका लागि सोमपाल कामीले तीन, रिजन ढकाल र ललित राजवंशीले एक/एक विकेट लिएका थिए ।
यसअघि लिग-२ का लागि क्यानडामा निराशाजनक प्रदर्शन गरेको नेपालले अमेरिका पुगेपछि आशालाग्दो प्रदर्शन गरेका छन् । नेपालले अमेरिकामा लिग दुईका ४ एक दिवसीय खेल खेल्ने तालिका छ ।