भारतलाई पराजित गर्दै नेपाली चेली साफ महिला च्याम्पियनसिपको फाइनलमा
काठमाडौं । नेपाल साफ वुमन च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो ।
१० खेलाडीमा सिमित नेपालले १ गोलले पछि परेको स्थिति उल्टाउँदै भारतलाई पराजित गरेको हो ।
निर्धारित समयमा नेपालका लागि सावित्रा भण्डारीले गोल गर्दै खेल बराबरी गरेकी थिइन् ।
दोस्रो हाफको पाँच मिनेटपछि नेपाल १० जना खेलाडीमा सीमित भएको थियो । ७३ मिनेटसम्म रोकिएको खेलमा नेपाली टोलीले खेल सुरु भएको एक मिनेटमै भारतलाई गोल फर्काएको थियो।
प्रिती राईको पासमा साबित्रा भण्डारीले नेपालका लागि सुन्दर गोल गरेर खेललाई बराबरीमा ल्याएकी थिइन्। त्यसअघि भारतले ७२ मिनेटमा पहिलो गोल गरेर अग्रता लिएको थियो।
निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेल सिधै पेनाल्टी शूट आउटमा पुगेको थियो।
भारत को पहिलो प्रहार पोस्ट मा लागेर फर्केको थियो भने गोलकिपर अञ्जना राना मगरले चानु सोरो खैबाङ को प्रहार रोकेपछि नेपाललाई २ गोलको अग्रता मिलेको थियो ।
पेनाल्टीमा भारतकी असलता देवीको प्रहार पनि असफल भएपछि नेपालले २ गोलको अग्रता लियो। नेपाल बाट सावित्रा भण्डारी, गीता राना, सविता राना मगरले पेनाल्टीमा गोल गरे । नेपालले दुई गोलको अग्रता लिइसकेका कारण भारतले पाँचौँ पेनाल्टी प्रहार गर्न पाएन ।
नेपालले फाइनलमा साविक विजेता बंगलादेशको सामना गर्ने छ । अघिल्लो संस्करणको फाइनलमा पनि नेपाल र बंगलादेश नै भिडेका थिए । यतिबेला नेपाललाई बदला लिंदै उपाधी जित्ने मौका छ ।