थाई एयरले माफी मागेपछि उडान गर्दै, भैरहवाबाट उडान गर्नैपर्ने

टुरिजमफेस
काठमाडौं । केही दिनअघि निलम्वनमा परेको थाई एयर एसियाको यही कात्तिक १८ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने भएको छ । कात्तिक ११ गते अनुमतिबिना काठमाडौं आएको थाई एयर एसियाको विमानलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान निलम्वन गर्दै कारबाही गरेको थियो ।
कारवाहीपछि एयरलाइन्सले प्राधिकरणसँग माफी मागेकाले निलम्बित उडान फुकुवा भएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले बताए । ‘थाई एयरले गल्ती महसुस गरेर माफी मागेपछि काठमाडौं र भैरहवा दुवै गन्तव्यबाट उडान गर्ने सर्तसहित उडान अनुमति फुकुवा गरिएको हो,’ उनले भने ।
कम्पनीलाई सातामा काठमाडौंमा चार र भैरहवामा दुई वटा उडान गर्नेगरी अनुमति दिइएको छ । भैरहवाको उडान बन्द गरेमा काठमाडौंको उडान स्वत रद्द हुने सर्त समेत राखी उडान फुकुवा गरिएको छ ।
बिना अनुमति थाइल्याण्डबाट काठमाडौं आएको थाई एयर एसियाको विमानलाई झण्डै एक घण्टा ‘होल्ड’ भएपछि विमान काठमाडौं विमानस्थलमा अवतरणका लागि अनुमति दिइएको थियो । एयरलाइन्सको नेपालका लागि आधिकारिक एजेन्ट (जीएसए)लाई पनि कारबाही गरिएको थियो । थाई एयर एसियाले अक्टोबर २६ अर्थात् कात्तिक १० गतेसम्मका लागि मात्रै उडान अनुमति लिएको थियो । प्राधिकरणले कात्तिक ११ गतेदेखि अन्तर्राष्ट्रिय उडानको ‘विन्टर सेड्युल’ बनाएको थियो । अनुमति नलिई उडान विमान अवतरण गर्न खोजेपछि प्राधिकरणले कारबाही गरेको हो ।