डोनाल्ड ट्रम्प जितका कारण
वासिङ्टन डीसी । अमेरिकाको राष्ट्रपतिको निर्वाचनमा पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएका छन् ।
ट्रम्पले अमेरिकालाई फेरि विश्वकै महान् देश बनाउने बताएका छन् । आफूहरू सबैले एक पटक फेरि सुखी र अद्भुत जीवन बिताउने छौँ भनेर पनि उनले भनेका छन् । तर, ट्रम्प निकै विवादित व्यक्तित्व हुन् भन्ने कुरा सबैलाई विदितै छ । उनीविरुद्ध धेरै मुद्दा चलिरहेका पनि छन् । तीमध्ये एक–दुईमा उनी दोषी पनि ठहर भएका छन् । तर, ट्रम्पले गत ६ महिनामा निकै ठुलो चुनावी अभियान चलाएकोमा कुनै शंका छैन ।
ट्रम्प कार्यकाल पूरा भएपछिको चुनाव हारेर त्यसपछि अर्को चुनाव जितेर ह्वाइट हाउस फर्किएका राष्ट्रपति हुनेछन् । अर्को अनौठो समानता चाँहि दुवै पटक राष्ट्रपति चुनावमा उनीविरुद्ध महिला उम्मेदवार थिए । सन् २०१६ मा उनले हिलारी क्लिन्टनलाई हराएका थिए । २०२० मा पुरुष उम्मेदवार जो बाइडेनसँग उनी हारे । चार वर्षपछि फेरि महिला उम्मेदवार कमला ह्यारिसलाई पराजित गरेर उनले ह्वाइट हाउसको ढोका खोलेका छन् ।
प्रतिस्पर्धी उम्मेदवार महिला भएकोले पनि ट्रम्पको जित सहज भएको एकाथरी विज्ञहरूले बताइरहेका छन् । अमेरिकी समाज अझै पनि पितृसत्तात्मक समाज हो । जसले धर्मलाई पनि राजनीतिमा ल्याउँछ । यस पटकको निर्वाचनमा ट्रम्पले जित्नुको पाँच कारण यस्ता छन्ः
बलियो समर्थन
ट्रम्पको समर्थन आधार निकै बलियो छ । सोही कारण उनी रिपब्लिकन पार्टीबाट पुनः राष्ट्रपति पदका उम्मेदवार बन्न सफल पनि भए । चुनावी प्रचारप्रसारका क्रममा जुलुसमा उनले निकै राम्रो समर्थन पाएका थिए । उनको ¥यालीमा ठुलो भीड पनि देखिएको थियो । ‘अमेरिकालाई फेरि महान् बनाउने’ सपना उनले देखाइरहे । डेमोक्रेटिक पार्टीका वर्तमान राष्ट्रपति जो बाइडेनको चार वर्षको शासनकालमा जनता धेरै कुरामा निराश थिए । यसैको फाइदा उठाएर उनले कामकाजी वर्गका मतदाताहरूलाई आफूतिर तान्न सके ।
मुद्रास्फीति र बेरोजगारी
पछिल्लो चार वर्षमा अमेरिकामा मुद्रास्फीति निकै बढ्यो । साथै कोरोनापछि बेरोजगारीको समस्या पनि देखियो । अमेरिकी अर्थतन्त्र खराब अवस्थामा रहेको बताइएको छ । तर, कमला ह्यारिसले आफ्नो चुनावी भाषणमा बारम्बार अर्थतन्त्र लयमा फर्किएको बताएकी थिइन् । सबै राम्रो छ । तर पनि जनताले उपराष्ट्रपति समेत रहेकी ह्यारिसको कुरा पत्याएनन् । न त अर्थतन्त्र लयमा फर्किएको महसुस नै गरे । अमेरिकाले देशलाई बढी आवश्यकता रहेको पैसा बाहिर खर्च गरिरहेको धेरैलाई लागेको जनमत सर्वेक्षणहरूले देखाएको थियो ।
ट्रम्पको अभियान आर्थिक सुधार, कर कटौतीको वाचा र अमेरिकालाई बलियो बनाउनमा केन्द्रित थियो । हरेक बैठकमा यी विषय उठाउँदै उनले राम्रो दिन र महान् अमेरिका फर्काउने सपना देखाएका थिए । । कर्पोरेट कर र नियमनमा थप कटौतीको प्रस्ताव गरेर मानिसहरूलाई लोभ्याउने उनको लक्ष्य थियो । यस लक्ष्यमा ट्रम्प धेरै हदसम्म सफल पनि भए ।
आप्रवासन नीति
आप्रवासनमा ट्रम्पको अडानले धेरै मतदाताहरूको चिन्ता झल्काउँछ । विशेषगरी बाइडेन प्रशासनको चार वर्षको अवधिमा बाहिरबाट मानिसहरू देशमा आएको कुरा आम अमेरिकीको मनमा गहिरो गरी बसेको थियो । गैरकानुनी रूपमा अमेरिका छिरेका माथि बाइडेनको कार्यकालमा कडा कारबाही हुन सकेन । सीमा सुरक्षा पनि चिन्ताको विषय हो । ट्रम्पले यसलाई कडाइका साथ प्रतिबन्ध लगाउने कुरा गरेका छन् । उनले सबैभन्दा पहिला अमेरिका र अमेरिकीको कुरा गरेका छन् । अमेरिकन फस्ट अर्थात अध्यागमनको अन्त्य गरेर अमेरिकी र उनीहरूका परिवारको सुरक्षालाई पहिलो प्राथमिकता दिनेमा ट्रम्पको जोड रहँदै आएको छ । अवैध आप्रवासीलाई कडाइका साथ सामना गर्छु भनेर ट्रम्पले स्पष्ट रूपमा भनेका छन् ।
स्विङ राज्यहरूमा ह्यारिसमाथि ट्रम्प हाबी
ट्रम्पले जर्जिया र उत्तरी क्यारोलिना जस्ता प्रमुख स्विङ राज्यहरू सफलतापूर्वक कब्जा गरे, जुन उनको चुनावी सफलताको लागि आवश्यक थियो । यसपटक ट्रम्पले पाएको समर्थन सन् २०१६ को जितभन्दा ठुलो छ । यी क्षेत्रहरूमा बारम्बार भ्रमण र लक्षित अभियानहरू चलाएर उनले डेमोक्रेटिक मतदातालाई पनि आफूतिर ताने । देशमा भेदभाव अन्त्य हुने, देश बलियो र ठुलो हुनेछ भन्ने ट्रम्पको बोलिमा उनीहरूले दम देखे ।
ट्रम्प आए बलियो राष्ट्रपति हुने आशा
अमेरिका र विश्व अहिले जुन स्थितिबाट गुज्रिरहेको छ, यस्तोमा आफूलाई बलियो र स्पष्ट बोल्ने राष्ट्रपतिको आवश्यकता भएको अमेरिकी जनताले महसुस गरेका थिए । यसमा उनीहरूले ट्रम्पलाई एकदमै राम्रो देखे । ट्रम्प विवादास्पद छन् र मुद्दा मामिलामा फसेका छन् यो अर्को कुरा भयो ।
महिलासँगको सम्बन्धले ट्रम्प बदनाम पनि छन् । तर यी सबै कुरा हुँदाहुँदै पनि अमेरिकीहरूको दृष्टिमा उनी दमदार राष्ट्रपति हुन सक्ने व्यक्ति हुन् । यसैले पनि चुनाव पूर्वका जनमत सर्वेक्षणमा ह्यारिस अगाडि देखिएपछि राष्ट्रपतिको निर्वाचनमा अमेरिकीहरूले ट्रम्पलाई बहुमतले जिताए । ट्रम्पले ह्वाइट हाउस त आफ्नो पोल्टामा पारे नै सिनेटको तल्लो र माथिल्लो दुवै सदनमा पार्टीको पकड बलियो बनाएका छन् । एजेन्सी