एमालेलाई इमेलमार्फत पठायो काठमाडौं महानगरले जरिवानाको पत्र
टुरिजमफेस
काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा एमालेलाई गरेको जरिवानाको पत्र इमेलमार्फत् पठाएको छ । एक लाख रूपैयाँ जरिवाना गरिएको पत्र बुझ्न एमालेले अस्वीकार गरेपछि महानगरपालिकाले इमेलमार्फत् पत्र पठाएको जानकारी दिएको हो । महानगरका विभागीय प्रमुख ध्रुव काफ्लेले महानगर प्रहरीबाट इमेलमार्फत् एमालेको केन्द्रीय कार्यालयलाई पत्र पठाइएको बताए ।
यसअघि महानगर प्रहरीका इन्स्पेक्टर किशोरकुमार भट्टराई नेतृत्वको टोली एमाले केन्द्रीय कार्यालय च्यासलमा पत्र बुझाउन पुगेको थियो । तर एमालेको केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले दरबारमार्गको कार्यक्रमको आयोजक केन्द्रीय कार्यालय नभएको बताएर पत्र बुझ्न अस्वीकार गरेका थिए । एमालेले जागरण सभाबाट दरबारमार्गमा फोहोर भएको भन्दै महानगरले एक लाख रूपैयाँ जरिवाना गरेको पत्र सार्वजनिक गरेको थियो ।