दशौं नेपालगन्ज म्याराथनको पुरुषतर्फको उपाधि खड्का र महिलातर्फको उपाधि श्रेष्ठलाई
टुरिजमफेस
नेपालगन्ज । दशौं संस्करणको नेपालगन्ज म्याराथनको उपाधि नेपाली सेनाका खडकबहादुर खड्काले जितेका छन् । खड्काले ४२ दशमलव १९५ किलोमिटरको दौड दुई घण्टा १७ मिनेट ४८ सेकेण्डमा पूरा गर्दै उपाधि हात पारेका हुन् ।
म्याराथनमा नेपाली सेनाकै राजन रोकाया र सुशील कुमार शाही क्रमशः दोस्रो र तेस्रो भए । उपाधि जितेका खड्का गत संस्करणका उपविजेता र त्यसभन्दा अघिल्लो संस्करणका विजेता हुन् । रोकायाले दुई घण्टा १७ मिनेट ५३ सेकेण्डमा निर्धारित दूरी पार गरे भने शाहीले दुई घण्टा २१ मिनेट ४५ सेकेण्डमा पूरा गरे । विजेताले क्रमशः दुई लाख, एक लाख र पचास हजार नगद पुरस्कार पनि प्राप्त गरेका छन् । खड्का र रोकायाले नेपालगन्ज म्याराथनको कोर्सको किर्तिमानी पनि तोडेका छन् । विजेता खड्काले आफूले पहिलोपटक आठौं स्थान प्राप्त गरेकोमा दुईपटक च्याम्पियन हुन पाएकोमा खुसी लागेको बताए ।
यसैगरी नेपालगन्ज महिला हाफ म्याराथनको उपाधि लगातार चौथोपटक सन्तोषी श्रेष्ठले जितेकी छन् । पुष्पा भण्डारी दोस्रो र विमला कार्की तेस्रो भएका छन् । उनीहरूले क्रमशः नगद ७५ हजार, ५० हजार र २५ हजार पुरस्कार प्राप्त गरेका छन् । श्रेष्ठले एक घण्टा १७ मिनेट ३० सेकेण्डमा कोर्स पूरा गरिन् । दोस्रो भएकी भण्डारीले निर्धारित दूरी एक घण्टा १९ मिनेट १२ सेकेन्डमा पूरा गरिन् । तेस्रो भएकी कार्कीले एक घण्टा ४९ मिनेट १५ सेकेन्डमा निर्धारित दूरी पूरा गरेकी थिइन् ।