विदेश जाने नेपालीले लगे वर्षमा ६८ अर्ब भन्दा धेरै रकम
टुरिजमफेस
काठमाडौं । भम्रण, अध्ययन तथा स्वास्थ्य उपचारका लागि नेपालीले चालु आर्थिक वर्ष २०८१–८२ मा ६८ अर्ब ३१ करोड रूपैयाँ विदेश लगेका छन् । जुन रकम सोही अवधिमा नेपाल आउने विदेशीले ल्याएको भन्दा ४१ अर्ब भन्दा धेरै हो ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो तथ्यांक अनुसार (साउनदेखि कात्तिक) नेपाल भ्रमणमा आउने पर्यटक तथा पढ्न र उपचारको लागि आउनेले २६ अर्ब रूपैयाँ ल्याएका छन् ।
विदेश लैजाने रकम बढ्नुमा वैदेशिक अध्ययन मुख्य कारण रहेको हो । त्यसबाहेक नेपालीहरूमा विदेश घुमफिरका लागि पनि जाने क्रम बढेको छ । यो अवधिमा नेपाल पढ्न आउनेले एक अर्ब ७९ करोड ल्याएका छन् । नेपालीहरू अध्ययनका लागि जान ३७ अर्ब रूपैयाँ बाहिरिएको छ । नेपालमा विदेशीहरू मुख्यतयाः मेडिकल शिक्षा अध्ययनका लागि आउने गर्छन् तर नेपालीहरू भने जुनसुकै विषय अध्ययनका लागि विदेश जाने गर्छन् । समीक्षा अवधिमा शिक्षा र औषधोपचारमा नेपालबाट २९ अर्ब रूपैयाँ बाहिरिएको छ ।
राष्ट्र बैंकले विदेश विदेश जानेलाई सहजै अमेरिकी डलर उपलब्ध गराउने गरिएपनि विदेशी मुद्रा सञ्चिति भने उच्च छ । केही समययता नेपालमा लगानी हुन सकिरहेको छैन ।