नेपाल प्रिमियर लिगको उपाधि जनकपुर बोल्टसलाई, फाइनलमा सुदूरपश्चिम पराजित

टुरिजमफेस
काठमाडौं । नेपाल प्रिमियर लिगको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुरले उपाधि जितेको हो ।
लाहिरु मिलान्थाको विस्फोटक ब्याटिङमा जनकपुरले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि उचालेको हो । सुदूरपश्चिमले दिएको १ सय ८५ रनको लक्ष्य जनकपुरले ४ बल अगावै ५ विकेटको क्षतिमा भेट्टायो । जनकपुरको जितमा लाहिरु मिलान्थाले सर्वाधिक ८७ रनको योगदान दिए । ४९ बलमा ९ चौका र ४ चौका प्रहार गरेका मिलान्था स्कट कुग्लेजिनको बलमा कट एण्ड बोल्ड हुन पुगे ।
जनकपुरका कप्तान आशिफ शेख ३३ रन बनाउँदा सैफ जैवको बलमा म्याकमुलेनको हातबाट क्याच आउट भए । उनले १९ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।
हर्ष ठाकेरले ३०, मोहम्मद मोहसिनले ९, आकाश त्रिपाठी र मयन यादव ले २÷२ रन बनाए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८४ रनको योगफल तयार पारेको थियो ।
उत्कृष्ट खेलाडी भने सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी भए । उनले कार पुरस्कार जितेका छन् । ऐरीले एनपिएलका कुल ९ खेलमा ९ विकेट लिँदै २२७ रन जोडेका थिए । ओमोडा इ–५ को मूल्य ६२ लाख रूपैयाँ छ । यस्तै ललित राजवंशी उत्कृष्ट बलर बन्दै बाइक पुरस्कार पाए । उनले प्रतियोगितामा १० खेलमा १७ विकेट लिए ।
कर्णाली याक्सका युवा बलर विपिनप्रसाद शर्मा इमर्जिङ खेलाडी घोषित भए । १६ वर्षीय विपिनले ८ खेलमा १३ विकेट लिएका थिए । उनले ५० हजार पुरस्कार प्राप्त गरे ।