उड्डयन प्राधिकरणबाट नियामक र सेवा प्रदायक अलग गरिँदै
टुरिजमफेस
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकाय अलग गर्ने तयारी गरिएको छ । जसका लागि संघीय संसद्मा विधेयक पेस हुँदैछ ।
मन्त्रिपरिषद्को बैठकले प्राधिकरणलाई टुक्राएर नियामक र सेवा प्रदायक निकायको विधेयक संसद्मा पेस गर्न स्वीकृति दिएको हो, जुन कुरा लामो समयदेखि माग हुँदै आएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई सेवा प्राधिकरणसम्बन्धी नयाँ विधेयक तर्जुमा गरेको छ भने नागरिक उड्डयन प्राधिकरण बनाउने गरी ऐनलाई संशोधन गर्नुपर्ने हुन्छ ।
मन्त्रिपरिषद् वैठकले हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक, २०८१ सङ्घीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । अघिल्लो संसद्ले उड्डयन प्राधिकरण छुट्याउने विधेयक संसद्मा पेस गरेको थियो । राष्ट्रियसभाले त्यसलाई पारित समेत गरेको थियो । तर, नागरिक उड्डयन प्राधिकरणका कर्मचारीले आन्दोलन गरेसँगै त्यसले मूर्तरूप पाउन सकेको छैन ।
नेपालको हवाई क्षेत्र सुरक्षित नरहेको भन्दै युरोपियन युनियनले एक दशकदेखि कालोसूचीमा राखेको छ । हवाई क्षेत्रको नियामक र सेवा प्रदायक छुट्याउन विज्ञहरूले सुझाव दिँदै आएका छन् । अब विधेयक संसद्मा पेस हुने र पारित भएसँगै प्राधिकरण टुक्रिनेछ ।