बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुला, दुर्लभ पाटे बाघ हेर्न पाइने
टुरिजमफेस
नेपालगञ्ज । देशको कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुला भएको छ । निकुञ्जका सूचना अधिकारी मन्दीप पंगेनीका अनुसार निकुञ्जभित्रको वनपथ वरिपरिका झाडी सफा गरेर बाघ देखिने ठाउँ पहिचान गरेपछि सफारी खुला गरिएको हो ।
सफारीका लागि एकपटकमा बढीमा १० जनाले प्रवेश पाउनेछन् भने त्यसका लागि सवारीधनीले एक पटकका लागि दुई हजार पाँच सय रुपैयाँ शुल्क निकुञ्जलाई बुझाउनुपर्ने नियम बनाइएको छ । निकुञ्जमा घुम्न आउने पर्यटकका लागि निकुञ्ज मुख्यालय ओभरी र कोहलपुरस्थित सेक्टर कार्यालयबाट सफारी गर्नका लागि टिकटको व्यवस्था मिलाइएको छ । सफारीमार्फत निकुञ्ज क्षेत्रमा पर्यटकले दुर्लभ पाटेबाघसहित त्यसका आहारा प्रजातिका चित्तल, चौका, बँदेल लगायतका वन्यजन्तु अवलोकन गर्न सक्नेछन् ।
बाँके निकुञ्ज दुर्लभ पाटे वाघ पाइने भएकाले पर्यटकको रोजगाइमा पर्दै आएको छ । विसं २०६७ मा बाँके, दाङ र सल्यानको ५५० वर्गकिलोमिटर क्षेत्र समेटेर बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएको थियो ।