आइएमई ग्रुपले चिसापानीमा बनाउन थाल्यो केबलकार, लागत ५ अर्ब
टुरिजमफेस
काठमाडौं । काठमाडौंमा चन्द्रागिरि केबलकार सञ्चालन गरिरहेको आइएमई ग्रुपले कैलालीको लम्की चुहाँ नगरपालिका–३ स्थित कर्णाली चिसापानीमा पनि केबलकार निर्माण थालेको छ । जालपादेवी नाम दिइएको केबलकारको परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले शिलान्यास गरिन् । लम्की चुहाँ नगरपालिका–३ को चिसापानीदेखि मोहन्याल गाउँपालिका–७ राजकाँडासम्म पुग्ने ३.१ किलोमिटर लामो केबलकारमा ३४ वटा गोन्डोला हुनेछन् ।
पछिल्लो समयमा आइएमई ग्रुपले सातै प्रदेशमा केबलकार तथा पर्यटन पूर्वाधारहरू निर्माण गरिरहेको छ । जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनले मात्र नेपालको आर्थिक, सांस्कृतिक र सामाजिक मुलुकको कायापलट गर्न सम्भव रहेका बताए । ‘पर्यटन पूर्वाधारमा लगानी गरे मात्र लक्ष्यअनुसार पर्यटक ल्याउन सकिन्छ र पर्यटकको बसाइँ लम्ब्याउन सकिन्छ,’ उनले भने । ५ अर्ब रूपैयाँ लगानी हुने केबलकारको बटम स्टेसनमा केबलकार, होटल, क्यासिनो, ब्याक्वेट हल निर्माण हुनेछन् भने टप स्टेसनमा रिसोर्ट, मन्दिर, स्काई वक, वकिङ ट्रेल, रेष्टुरेन्ट तथा चिल्ड्रेन पार्कसहित अन्य पर्यटकीय तथा मनोरञ्जनात्मक पूर्वाधारहरु निर्माण हुनेछन् ।