सन् २०२४ को ११ महिनामा तीन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४४ लाखले गरे हवाई यात्रा
टुरिजमफेस
काठमाडौँ । सन् २०२४ को ११ महिनामा देशका तीन अन्तर्राष्ट्रिय विमानस्थलहरूबाट ४४ लाख ४९ हजार १३३ जना यात्रुले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यस अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रय उडानमा यात्रुको संख्या कुल ४४ लाख ४९ हजार १३३ रहेको हो, जुन अघिल्लो वर्षको यसै अवधिको तुलनामा करिब ७ प्रतिशतले बढी हो ।
सन् २०२३ को नोभेम्बरसम्ममा यी ३ वटै विमानस्थलबाट आवागमन गर्ने अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या ४१ लाख ५४ हजार ३९३ रहेको थियो । यस अवधिमा आन्तरिक उडानतर्फ ८७ लाख ६० हजार ३०२ रहेका छन् । सन् २०२३ को भन्दा यो संख्या करिब १३ प्रतिशतले बढी हो । सन् २०२३ को यसै अवधिमा आन्तरिक उडानतर्फ ७७ लाखले यात्रा गरेका थिए । नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीको संख्या सन् २०२३ मा २९ रहेकोमा हाल २०२४ मा विस्तारा एयरलाइन्स एयर इन्डियामा गाभिएपछि २८ मा झरेको छ ।
नेपालबाट १६ देशका २९ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान भइरहेको छ । आन्तरिकतर्फ सञ्चालन अनुमति प्राप्त २१ वायु सेवामध्ये हाल क्रियाशील कम्पनीको संख्या १९ रहेको प्राधिकरणले जनाएको छ । जसबाट कुल ५५ वटा विमानस्थलमध्ये ३५ वटा विमानस्थलहरू आन्तरिक हवाई सेवा सञ्जालमा जोडिएका छन् ।