कस्तो रह्यो सन् २०२४ मा पर्यटन क्षेत्र ?
टुरिजमफेस
काठमाडौं । यतिखेर संसारभर अंग्रेजी नयाँ वर्ष २०२५ को स्वागत भइरहेको छ । नेपालमा पनि नयाँ वर्षको रौनक जारी छ । यो सँगै सन् २०२४ को समीक्षा पनि भइरहेको छ । सन् २०२४ मा हरेक क्षेत्र भएका गतिविधिको चर्चा हुँदै गर्दा हामी पनि पर्यटन क्षेत्रको चर्चा गर्न गइरहेका छौं ।
नेपालको पर्यटन क्षेत्रको लागि सन् २०२४ औसत नै रह्यो । कोरोना महामारीपछि पर्यटकको संख्या बढ्दै जानु पर्नेमा खासै सुधार भएको देखिएन । बरु उल्टै गुणस्तरीय पर्यटकको संख्या घट्दै गएको पर्यटन व्यवसायी बताउँछन् । ठमेलका पर्यटन व्यवसायी भवीश्वर शर्मा पछिल्ला वर्षयता नेपालमा पर्यटकको संख्या बढ्न नसकेको उल्लेख गर्दै गुणस्तरीय पर्यटक पनि निकै घटेको बताउँछन् । ‘१०÷१५ वर्ष अघिसम्म सिजनको बेला ठमेलमा विदेशी पर्यटक मात्र देखिन्थे,’ उनी भन्छन्, ‘तर अहिले विदेशी पर्यटकलाई खोजी गर्नुपर्ने अवस्था छ ।’ नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२४ को ११ महिनासम १० लाख ५५ हजार ५३३ पर्यटक नेपाल भित्रिएका छन् । बोर्डले सन् २०२४ मा १३ लाख भन्दा बढी पर्यटक आउने लक्ष्य राखेको थियो ।
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) का अध्यक्ष कुमारमणि थपलिया सन् २०२४ पर्यटन क्षेत्रको लागि उतारचढाव वर्ष भएको बताउँछन् । ट्रेकिङ एजेन्सिस एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डे सन् २०२४ मा सरकारी तवरबाट हुनुपर्ने नयाँ काम पर्यटन क्षेत्रमा नभएको बताउँछन् । नेपाल पर्वतारोहन संघका वरिष्ठ उपाध्यक्ष ठाकुर पाण्डे पछिल्लो समयमा होटल र एयरलायन्सको संख्यामा वृद्धि हुनु सकारात्मक बताउँछन् । होटल संघ नेपालका महासचिव साजन शाक्य सन् २०२४ मा नयाँ होटलहरूको संख्या थपिएपनि त्यसअनुसार पर्यटक नआएको बताउँछन् । ‘सन् २०२४ मा पाँचतारे होटल नै पाँचवटा आए । तर होटलको संख्या बढेअनुसार अकुपेन्सी बढ्न सकेन,’ उनले भने ।
सन् २०२४ मा सीएनएले विश्वका उत्कृष्ट एक सय गन्तव्यको सूचीमा बर्दियाको बुरान र सिन्तामणि रिर्सोटलाई समेट्नु सकारात्मक पक्ष रहेको व्यवसायीहरूको भनाइ छ । त्यस्तै ट्राभल गाइड लोन्ली प्लानेटले घुम्नै पर्ने विश्वका शीर्ष ३० ट्राभल गन्तव्यको सूचीमा नेपालको तराई क्षेत्रलाई समेटेको छ । विश्वप्रसिद्ध ट्राभल वेबसाइट ‘ट्रिप एडभाइजर’ ले संसारको उत्कृष्ट प्राकृतिक गन्तव्यको रूपमा काठमाडौंलाई समेटेको छ ।