चितवन महोत्सव पुस २५ देखि माघ १० सम्म, महोत्सव पर्यटन र कृषि केन्द्रित हुने
टुरिजमफेस
काठमाडौं । चितवन उद्योग वाणिज्य संघले यही पुस २५ देखि माघ १० गतेसम्म चितवन महोत्सव आयोजना गर्ने भएको छ । चितवनका पर्यटकीयस्थलसम्म जान र आउनका लागि सफारीको व्यवस्था, होमस्टेमा बसोबास गर्ने प्रबन्ध मिलाइने, पर्यटकीय क्षेत्रको वृत्तचित्र प्रस्तुत गर्नेजस्ता कामहरु गरिने शुक्रवार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले बताए । पर्यटकीय स्थलसम्म जानका लागि ‘पार्टी बस’ समेत सञ्चालन गर्ने तयारी गरिएको छ । पार्टी बसमा यात्रा गर्दा बसभित्रै विभिन्न परिकार खान पाइनेछ । यस अवधिमा भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पर्यटन व्यवसायीको समन्वमा छुटको व्यवस्थासमेत गरिएको छ ।
महोत्सव कृषि, पर्यटन, शिक्षा, रोजगार, स्वास्थ्य, व्यापार मेला र सूचना प्रविधि केन्द्रित हुने महोत्सव मुख्य आयोजक ग्लोबल आईएमई बैंक रहेको छ । ५ लाखले महोत्सव अवलोकन गर्ने र ३० करोडको कारोबार हुने संघको अनुमान छ । अघिल्ला महोत्सवमा पोल्ट्री, माछा, डेरी, तोरी, मौरी, मह, केरालगायत उत्पादनलाई प्राथमिकता दिइएकामा यस वर्ष पर्यटनलाई प्राथमिकतामा राखिएको पनि श्रेष्ठले बताए ।
महोत्सवमा सात वटा विशेष स्टल, डोम कृषि परिसर, अटो परिसरका साथै निर्माण व्यवसायीको सहकार्यमा निर्माण एक्स्पो, घरेलु तथा साना उद्योग, विभिन्न सङ्घसंस्थाका स्टल, रेष्टुरेन्ट परिसरसहित चार सय ३० वटा कक्ष रहने छन् ।