ठकुरी नेपालका लागि ‘एम्स दुत’

टुरिजमफेस
नेपालगन्ज । नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को दुत नियुक्त भएका छन् ।
एम्सका नवनिर्वाचित अध्यक्ष पाको बोराओले ठकुरीलाई नेपालका लागि एम्स दुत नियुक्त गरिएको मनोनयन पत्र पठाएका छन् । ‘हामी तपाईंसँगको सहकार्यले विश्वभर रोड रनिङलाई प्रोत्साहन र प्रवद्र्धन गर्ने एम्सको लक्ष्य प्राप्ति हुने अपेक्षा गर्दछौं,’ अध्यक्ष बोराओले पत्रमा उल्लेख गरेका छन्, ‘नेपालगन्ज म्याराथन आयोजकका रूपमा तपाईंको लामो अनुभवलाई आत्मसात गर्दै एम्सको वल्र्ड कंग्रेसमा तपाईंको उत्कृष्ट प्रस्तुति हेरेपछि हामी तपाईंलाईं नेपालका लागि दुत नियुक्त गर्ने निर्णयमा पुगेका हौं ।‘
जापानको ओसाकामा भएको २३औं वल्र्ड कंग्रेसमा ठकुरीले नै भाग लिएका थिए । एम्सको दुतका रूपमा ठकुरीले एम्सका सदस्यता विषयमा नेपालभित्र रेस डाइरेक्टर तथा आयोजकलाई सुचित गर्नुपर्नेछ । साथै एम्सका गतिविधिलाई समन्वयकर्ताका रूपमा कार्य गर्नु, रनिङ समुदायमा हुने विवाद वा त्यस्ता बिषयका बारेमा एम्सको बोर्ड समक्ष निरन्तर रिपोर्टिंङ गर्नुपर्नेछ । एम्सको उद्देश्य र सदस्यताबाट हुने फाइदाका बारेमा रेस डाइरेक्टरलाई बुझाउँदै सदस्यता बिस्तार कार्यलाई प्रवद्र्धन गर्नुपर्नेछ ।
नेपालगन्ज म्याराथनको दशक यात्रा पुरा गर्ने क्रममा कर्णाली हाफ म्याराथन, नेपालगन्ज १० किमी नाइट रन, राप्तीसोनारी नेचर रन र गौघाट ग्रीन रनले आफ्नो यात्रा आरम्भ गरिसकेका छन् । त्यस्तै बौद्धिक बहस गर्ने थलोका रूपमा नेपालगन्ज कनक्लेव पनि आयोजना हुँदै आएको छ । यसअघि इटालीको मिलानमा हेडक्वार्टर रहेको विश्वव्यापी संस्था फेडेरेसन अफ इन्टरनेसनल सिनेमा टेलिभिजन स्पोटर््स(फिक्ट्स)ले समेत ठकुरीलाई नेपालका लागि दुत नियुक्त गरिसकेको छ ।