खुम्बुको उच्च क्षेत्रमा बाक्लो हिमपात, आइल्यान्ड पिकबाट ७ विदेशी पर्यटकको उद्धार
फाइल तस्बिर
सोलुखुम्बु । खुम्बु क्षेत्रको उच्च हिमाली भूभागमा भारी हिमपात भएपछि पदयात्रा तथा पर्वतारोहणमा रहेका पर्यटकको आवागमन प्रभावित भएको छ। लगातारको वर्षापछि माथिल्लो खुम्बु क्षेत्रमा हिमपात सुरु भएको हो।
जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी कमानसिंह थापा मगरका अनुसार उच्च क्षेत्रमा आधा मिटरभन्दा बढी हिउँ जमिसकेको छ। मौसम प्रतिकूल बनेपछि जोखिमपूर्ण क्षेत्रमा थप अघि नबढ्न पर्यटक तथा पदयात्रीलाई आग्रह गरिएको छ।
हिमपातका कारण सगरमाथा क्षेत्रको इम्जा छे (आइल्यान्ड पिक) क्षेत्रमा रोकिएका सात जना विदेशी पर्यटकको उद्धार गरिएको छ। प्रशासनका अनुसार उनीहरूलाई स्थानीय जनप्रतिनिधि, स्थानीयवासी तथा प्रहरीको समन्वयमा सुरक्षित स्थानमा ल्याइएको हो।
प्रमुख जिल्ला अधिकारी थापा मगरले उच्च क्षेत्रमा हिमपात जारी रहेकाले पर्यटकको सुरक्षालाई प्राथमिकतामा राखेर आवश्यक व्यवस्थापन भइरहेको बताए। उनका अनुसार कतिपय स्थानमा आधा मिटरभन्दा बढी हिउँ जमेको सूचना प्राप्त भएको छ।
आइल्यान्ड पिक सगरमाथा राष्ट्रिय निकुञ्जभित्र रहेको महत्वपूर्ण पर्वतारोहण गन्तव्य हो। स्थानीय रूपमा इम्जा छे नामले चिनिने यो हिमाल समुद्री सतहबाट करिब ६ हजार १६५ मिटरको उचाइमा रहेको छ। दिङबोचेबाट इम्जा खोला हुँदै चुकुङ जाने पदमार्ग सगरमाथा आधार शिविर क्षेत्रसँग जोडिन्छ।
मौसममा आएको खराबीका कारण उच्च क्षेत्रमा पर्यटक तथा पदयात्रीको आवागमन थप कठिन बन्न सक्ने भन्दै स्थानीय तह र सुरक्षा निकायले निगरानी बढाएका छन्। प्रशासनका अनुसार हाल सगरमाथा क्षेत्रमा १ हजार २ सयभन्दा बढी पर्यटक रहेका छन्। उनीहरूको अवस्थाबारे स्थानीय तह, प्रहरी तथा अन्य सरोकारवाला निकायमार्फत जानकारी लिइरहेको जनाइएको छ।
खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीका अनुसार प्रतिकूल मौसमलाई ध्यानमा राख्दै पर्यटक तथा पदयात्रीलाई सावधानी अपनाउन सूचना जारी गरिएको छ। जोखिमपूर्ण अवस्थामा अनावश्यक रूपमा माथिल्लो क्षेत्रमा नजान आग्रह गरिएको उनले बताए।
गाउँपालिकाका अनुसार थुक्ला, थोरकसेप, गोक्योसहितका उच्च हिमाली क्षेत्रमा समेत हिमपात भइरहेको छ। पर्यटक, पदयात्री, पर्वतारोही, गाइड तथा भरियालाई मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।
सगरमाथा राष्ट्रिय निकुञ्जको उच्च भूभाग हिमनदी, हिमाल तथा गहिरा उपत्यकाले बनेको संवेदनशील हिमाली क्षेत्र हो। यस क्षेत्रमा मौसम छिटो परिवर्तन हुने भएकाले वर्षा तथा हिमपातले पदयात्रा र पर्वतारोहणमा प्रत्यक्ष असर पार्न सक्छ।
प्रमुख जिल्ला अधिकारी थापा मगरका अनुसार हिमपात थप बढेमा उच्च क्षेत्रमा रहेका पर्यटक तथा पदयात्रीको उद्धारका लागि प्रशासन, प्रहरी, स्थानीय तह र स्थानीयवासीबीच समन्वय कायम गरिएको छ। आवश्यक उद्धार तथा सुरक्षा व्यवस्थापनका लागि संयन्त्र तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ।
मौसममा सुधार नआएसम्म उच्च हिमाली क्षेत्रमा अनावश्यक आवागमन नगर्न तथा स्थानीय प्रशासन र गाउँपालिकाले जारी गरेका सुरक्षा सूचनाको पालना गर्न प्रशासनले आग्रह गरेको छ।
फाइल तस्बिर
