भोटेकोशी बाढीको एक महिना : खोज तथा राहत जारी, पुनःस्थापनामा ठूलो चुनौती
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको एक महिना पूरा भएको छ। बाढीले रसुवासहित नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि प्रभावित क्षेत्रमा अझै खोज, उद्धार, राहत तथा पुनःस्थापनाका काम जारी छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरणअनुसार बाढीका कारण हालसम्म १ हजार ४५३ जनाको मृत्यु भएको छ भने ५ हजार ५५० जना अझै बेपत्ता छन्। उद्धार गरिएका व्यक्तिको संख्या १३ हजार ७९५ पुगेको छ।
प्रभावितको खोज तथा उद्धार, राहत वितरण र अन्य मानवीय सेवामा तीनवटै सुरक्षा निकायका २० हजार ४७७ सुरक्षाकर्मी परिचालित छन्। बाढी प्रभावितमध्ये केही अझै अस्थायी आश्रयस्थलमा बसिरहेका छन्।
बाढीबाट करिब ४ खर्ब ८ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक आकलन गरिएको छ। द्रुत क्षति तथा आवश्यकता आकलन (आरडिएनए) प्रतिवेदनले पुनर्निर्माण तथा पुनःस्थापनाका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने देखाएको छ।
विपद्का कारण ७ हजार ५७० निजी घर क्षतिग्रस्त भएका छन्। त्यस्तै, ४८ सार्वजनिक भवन, १८ विद्यालय, ७ स्वास्थ्य संस्था र ३० वटा सांस्कृतिक सम्पदामा क्षति पुगेको छ।
ऊर्जा र यातायात पूर्वाधार पनि बाढीबाट नराम्ररी प्रभावित भएका छन्। ७५९ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना तथा २४ मेगावाट क्षमताका पाँच सौर्य आयोजना प्रभावित भएका छन्। ६९ किलोमिटर सडक क्षतिग्रस्त भएको छ भने ३७ वटा मोटरेबल पुलमा क्षति पुगेकोमा ३३ वटा बगेका छन्। ६८ वटा झोलुंगे पुलमा समेत क्षति पुगेको छ।
बाढीबाट करिब ८ हजार ३०० घरपरिवार तथा ४० हजार मानिस प्रभावित भएको विवरणमा उल्लेख छ। कृषि क्षेत्रमा मात्रै १ हजार ८०६ हेक्टर क्षेत्रफलको बालीमा क्षति पुगेको छ। पशुपालन, पन्छीपालन र माछापालनमा समेत असर परेको छ। यसबाहेक १७ बैंक शाखा र करिब ४ हजार ८०० व्यापारिक प्रतिष्ठान प्रभावित भएका छन्।
क्षतिग्रस्त झोलुंगे पुलको पुनर्निर्माण, सडक सम्पर्क पुनःस्थापना तथा प्रभावित समुदायलाई आवश्यक सेवामा जोड्ने कामलाई पनि तीव्रता दिइएको छ।
विपद्पछि रेडक्रसको निरन्तर प्रतिकार्य
बाढीपछि नेपाल रेडक्रस सोसाइटीले खोज तथा उद्धारसँगै राहत र मानवीय सहायता वितरणलाई निरन्तरता दिइरहेको जनाएको छ। रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी)ले आपत्कालीन सहयोग कोष (ड्रिफ) मार्फत १२ लाख अमेरिकी डलर परिचालनका लागि स्वीकृति दिएपछि तत्कालीन उद्धार तथा राहत कार्यमा सहयोग पुगेको जनाइएको छ।
नेपाल रेडक्रसले आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय बनाउँदै प्रभावित जिल्लाका शाखा र स्वयंसेवकलाई परिचालन गरेको थियो। स्वयंसेवकहरूले प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा सहयोग गर्नुका साथै समुदायको तत्काल आवश्यकता पहिचान र समन्वयमा भूमिका निर्वाह गरिरहेका छन्।
आइएफआरसीका महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईंले आपत्कालीन कोषबाट प्राप्त सहयोगले बाढीको सुरुआती चरणमै आवश्यक सामग्री र सेवा प्रभावित क्षेत्रमा पुर्याउन सहज भएको बताएका छन्। उनका अनुसार खानेपानी, त्रिपाल, तारपोलिन, कम्बल, म्याट्रेस, प्राथमिक उपचार सामग्री, स्ट्रेचर, शव व्यवस्थापनका सामग्री तथा मनोसामाजिक सहयोगलगायत सेवा तत्काल उपलब्ध गराउन सकिएको थियो।
उनले भोटेकोशी बाढीमा भएको तीव्र स्रोत परिचालन र आपत्कालीन प्रतिकार्यलाई जलवायुजन्य विपद्को मानवीय प्रतिकार्यका लागि महत्वपूर्ण उदाहरणका रूपमा लिन सकिने बताएका छन्।
नेपाल रेडक्रसका महामन्त्री ऋषिरमण खनालका अनुसार बाढी आएको सुरुआती समयदेखि नै खोज तथा उद्धारसँगै प्रभावित परिवारलाई आवास तथा गैरखाद्य सामग्री, खाद्यान्न, खानेपानी, सरसफाइ, स्वास्थ्य सेवा, मनोसामाजिक सहयोग, परिवार पुनर्मिलन तथा नगद सहायता उपलब्ध गराउने काम भइरहेको छ।
हजारौँ परिवारले पाए राहत
नेपाल रेडक्रसका अनुसार एक महिनाको अवधिमा १ हजार २१८ सेट आवास तथा गैरखाद्य सामग्री, ५६३ थान त्रिपाल, ७०१ थान म्याट्रेस र १ हजार ३२४ थान कम्बल वितरण गरिएको छ। करिब २ हजार प्रभावित परिवारलाई खाद्य सामग्रीसमेत उपलब्ध गराइएको छ।
खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा करिब २ हजार २०० घरधुरीलाई सेवा दिइएको छ। प्रभावित क्षेत्रमा १८ वटा पानी ट्यांकी व्यवस्थापन गरिएको तथा आवश्यक स्थानमा ट्यांकरमार्फत पानी वितरण गरिएको रेडक्रसले जनाएको छ।
मनोसामाजिक तथा प्राथमिक मनोसामाजिक सहयोगबाट १ हजार ७१० जना लाभान्वित भएका छन्। रेडक्रसको आपत्कालीन स्वास्थ्य क्लिनिकमार्फत १ हजार २३९ जनाले स्वास्थ्य परीक्षण, औषधि तथा अन्य सेवा पाएका छन्।
परिवार पुनर्मिलन तथा सम्पर्क पुनःस्थापनाअन्तर्गत २ हजार २९१ वटा खोजतलाससम्बन्धी केसमा सेवा तथा सहजीकरण गरिएको छ। नेपाल सरकारका विभिन्न सुरक्षा निकायलाई शव व्यवस्थापनका लागि २ हजारवटा ब्याग उपलब्ध गराइएको पनि रेडक्रसले जनाएको छ।
बहुउद्देश्यीय नगद तथा भौचर सहायताअन्तर्गत धादिङका १९८ र नुवाकोटका २६२ घरधुरीलाई नगद सहयोग प्रदान गरिएको छ। समुदायबाट प्राप्त करिब ३५० गुनासा, जिज्ञासा, अनुरोध तथा सुझावलाई सम्बोधन गर्न आवश्यक जानकारी र सहजीकरण गरिएको छ।
त्यस्तै, ५८७ मर्यादा किट र १ हजार ८७ स्वच्छता किट वितरण गरिएको तथा बालमैत्री सुरक्षित स्थानमार्फत १ हजार १८९ बालबालिकालाई सेवा दिइएको छ।
प्रभावित समुदायलाई सूचना तथा सहायता उपलब्ध गराउन १७ स्थानमा सहायता तथा सूचना कक्ष सञ्चालनमा ल्याइएको छ। बाढी तथा पहिरोबाट जोगिने उपाय, भारी वर्षाको पूर्वसूचना, खानेपानी तथा सरसफाइ, पानी शुद्धीकरण, स्वास्थ्य, परिवार पुनर्मिलन र राहतमा पहुँचलगायत विषयमा सूचना सामग्री तयार गरी रेडियो तथा सामाजिक सञ्जालमार्फत प्रचार गरिएको छ।
अबको प्राथमिकता पुनःस्थापना
रेडक्रसले तत्कालीन राहतसँगै प्रभावित परिवारको पुनःस्थापना र पुनर्लाभलाई आगामी प्राथमिकतामा राखेको जनाएको छ। विस्थापित तथा जोखिममा रहेका परिवारको अवस्था, मौसमजन्य जोखिम र स्थानीय आवश्यकताका आधारमा राहत तथा मानवीय सहायता निरन्तरता दिने योजना छ।
आवास, स्वास्थ्य, जीविकोपार्जन, खानेपानी तथा सरसफाइलगायत क्षेत्रमा आवश्यकतामा आधारित कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ। यससँगै क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण र प्रभावित परिवारलाई दीर्घकालीन रूपमा पुनःस्थापित गर्नु अबको मुख्य चुनौती बनेको छ।
विनाशकारी बाढीपछि एक महिनासम्म पनि खोज तथा राहतका काम निरन्तर रहनुले विपद्को प्रभाव तत्कालीन उद्धारभन्दा धेरै परसम्म फैलिएको देखाएको छ। अब प्रभावित क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन राहतसँगै पुनर्निर्माण, पुनःस्थापना र जीविकोपार्जन पुनर्स्थापनामा दीर्घकालीन पहल आवश्यक देखिएको छ।
