बढ्दै केबलकार, कसरी जुट्दै छ स्रोत ?

Manakamana-Cable-Car-
टुरिजमफेस
काठमाडौं । पछिल्लो समयमा नेपालमा केबलकार थपिने क्रम जारी छ । केही दिनअघि जाल्पादेवी केबलकारको शिलान्यास गरियो । १० वटा केबलकारको निर्माण प्रक्रिया अन्तिम चरणमा छ । ८ केबलकार सञ्चालनमा छन् । यो संख्याले केबलकार निर्माणको स्रोत तथा कसरी टिक्छन् भन्ने प्रश्न महत्वपूर्ण बनेको छ ।
केबलकार यात्राका लागि मात्रै नभई पर्यटक बढाउने साधन पनि बनिरहेको दखिन्छ । जसले गर्दा केबलकार राम्रो व्यवसाय हुनसक्ने सम्भावना देखिएको छ । धार्मिक स्थलहरू केबलकार सञ्चालनमा आइसकेपछि चर्चामा छन् ।
पर्यटकलाई आकर्षित गराउने उद्देश्यले सञ्चालमा ल्याइएका केबलकारहरू नेपालका डाडाँकाडाँमा छन् । वि.सं २०५५ साल मंसिर ८ गतेबाट सर्वप्रथम नेपालमा यात्रु बोक्ने केबलकारका रूपमा मनकामना केबलकार सञ्चालनमा आएको थियो । त्यसपछि लामो समयसम्म कतैपनि केबलकार बनेका थिएनन् । हाल व्यवसायीले केबलकारमा होटलसहित एक खर्ब बढी लगानी गरेको अनुमान छ ।
सञ्चालनमा रहेका केबलकार
मनकामना केबलकार
मनकामना केबलकार सञ्चालनमा आएको साढे दुई दशक भइसकेको छ । गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर दर्शन गर्न जाने दर्शनार्थीको सहजताका लागि केबलकारमा प्रायः जसो मानिसहरूको भीड लाग्ने गर्दछ । चितवनको कुरिनटार (इच्छाकामना गाउँपालिका–४) बाट गोरखाको मनकामना (सहिद लखन गाउँपालिका–३) जोडेर मनकामना केवलकार निर्माण गरिएको हो ।
२०५४ माघ अन्तिमबाट निर्माणको काम सुरु भई २०५५ मंसिर ८ बाट केबलकार व्यावसायिक रूपमा सञ्चालनमा आएको हो । नेपालमा केबलकार चिनाउने काम मनकामना केबलकारले गरेको हो । १ हजार ३ सय २ मिटरको उचाइमा केबलकारमार्फत पुगिन्छ ।
केबलकारले वार्षिक साढे ११ लाख यात्रुलाई सेवा दिँदै आइरहेको मनकामना केबलकार प्रालिका नायब महाप्रबन्धक उज्ज्वल श्रेष्ठले जानकारी दिए । उनका अनुसार सञ्चालनमा आएदेखि हालसम्म २ करोडसम्म यात्रुले सेवा लिइसकेका छन् । केवलकारमा ३४ वटा गोन्डला (डब्बा) छन् । एउटा गोन्डलामा छजना यात्रु अट्छन् ।
केबलकार चढेको भाडा ७ सय ७० रुपैयाँ रहेको छ । केबलकारमा सेवा लिने कुल यात्रुमा ७० प्रतिशत नेपाली, २६ प्रतिशत भारतीय र अन्य विदेशी यात्रु ४ प्रतिशत रहेका छन्।
कुरिनटारबाट ३.०२ किलोमिटर केवलकारको दूरी १० देखि १२ मिनेटमा पार गरिन्छ । अहिले ५५ करोडको लागतमा मनकामना केवलकार हाताभित्र रिसोर्ट निर्माणको काम भइसकेको छ । ४० कोठाको यो रिसोर्टमा स्विमिङ पुल, हेल्थ क्लब, सभाहल र रेस्टुरेन्ट सेवा उपलब्ध हुने मनकामना प्रालिले जनाएको छ ।
चन्द्रागिरि केबलकार
काठमाडौं उपत्यकामा पहिलोपटक निर्माण भएको केबलकार रचन्द्रागिरी केबलकार हो । यो केबलकार थानकोटबाट भालेश्वर मन्दिर जोड्नेगरी २०७३ साउन १ गतेदेखि सञ्चालनमा आएको थियो । यसमा यात्रु बोक्ने ३८ वटा गोन्डला छन् । यसको दूरी २.४ किलोमिटर रहेको छ । केबलकार चढेको करिब १२ मिनेटमा गन्तव्यमा पुगिन्छ । केवलकार सञ्चालनमा आएपछि भालेश्वर मन्दिरक्षेत्र पर्यटकीय गन्तव्य बनेको छ । दुई हजार पाँच सय ५१ मिटर उचाइमा भएकाले यो ठाउँमा पुगेर काठमाडौं उपत्यका देख्न पाइन्छ । यो ठाउँमा पुस–माघमा हिउँ पर्ने भएकाले हिउँ खेल्न आउने आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गर्छ ।
केबलकार चढेको भाडा ८ सय २५ रुपैयाँ छ । यो ठाउँमा सुविधासम्पन्न लक्जरी होटल सञ्चालनमा छन् । होटलमा एक सयवटा कोठा छन् । केवलकार सञ्चालनमा आएको दुई वर्षपछि रिसोर्ट सञ्चालनमा आएको हो । भ्यु टावरबाट काठमाडौं उपत्यकासहित लस्करै देखिने हिमालहरू नियाल्न सकिन्छ । पछिल्लो समय यो ठाउँ घुम्ने र रमाउने गन्तव्य बन्दै आएको छ । कतिपय गर्मी छल्नका लागि पनि चन्द्रागिरिको डाँडामा पुग्ने गरेका छन् । यहाँ साना बालबालिकालाई छुट्टै खेल्ने र रमाउने ठाउँको पनि निर्माण गरिएको छ । वार्षिक रूपमा ७ देखि ८ लाखले यो केबलकार चढ्ने चन्द्रागिरि रिसोर्टका सेल्स म्यानेजर सुमित ढुङ्गेलले जानकारी दिए ।
कालिञ्चोक केबलकार
दोलखास्थित कालिञ्चोक केबलकार सबैभन्दा उच्च ठाउँमा निर्माण गरिएको छ । दोलखाको चरिकोटबाट १८ किलोमिटर दूरी हिँडेपछि पुगिने यो केबलकार चढेर करिब ३ हजार ८ सय मिटर उचाइसम्म पुगिन्छ । २०७५ कात्तिक १७ गतेदेखि यो केबलकार सञ्चालनमा आएको हो । यसमा चारवटा गोन्डला छन् । एउटा गोन्डलामा ८ जना यात्रु अट्छन् ।
कुरी बजारबाट कालिञ्चोक मन्दिर नजिकसम्म ९ सय मिटर लामो दूरी रहेको छ । केवलकारबाट झरेर वरिपरिको हिमशृंखला नियाल्दै करिब १० मिनेट पैदल हिँडेर मन्दिरसम्म पुग्न सकिन्छ । ५ मिनेट केवलकारको यात्रा गरेपछि डाँडामा पुगिन्छ । यो ठाउँमा मन्दिर दर्शनसँगै केवलकार चढ्न आउने आन्तरिक पर्यटक बर्सेनि बढिरहेका छन् । सार्वजनिक बिदाका दिन केवलकार चढेर मन्दिरसम्म जाने यात्रुको भीड लाग्छ । नेपालीसँगै भारत र बंगलादेशबाट समेत धार्मिक पर्यटक कालिञ्चोक पुग्ने गरेका छन् । हिउँ पर्ने मौसममा काठमाडौंदेखि हिउँ खेल्न र घुम्न जानेहरू धेरै हुन्छन् । छिनछिनमै मौसम बदलिरहने यो ठाउँमा पुग्नेहरू रोमाञ्चित बन्छन् ।
यहाँको वरिपरिको दृश्यले मोहित बनाउँछ। अहिलेसम्म यसको लगानी ६० करोड रुपैयाँ पुगिसकेको छ । केवलकारको भाडा प्रतियात्रु छ सय रुपैयाँ तोकिएको छ। केवलकार सञ्चालनमा आएपछि यो क्षेत्रका होटलहरू खुल्ने क्रम बढेको छ । यो केबलकारको निर्माण गर्न तीन वर्ष लागेको थियो ।
अन्नपूर्ण केबलकार
कास्कीको सेदीबगरबाट पर्यटकीय गन्तव्य सराङकोट जोड्नेगरी अन्नपूर्ण केवलकार निर्माण गरिएको छ । यसको निर्माण थाल्दै गर्दा कोभिड–१९ को महामारी सुरु भयो । त्यसैले चार वर्ष लगाएर निर्माण कार्य सम्पन्न भएको यो केवलकार २०७९ फागुन ६ गतेबाट सञ्चालनमा आएको थियो । यो जापानी प्रविधिमा निर्माण गरिएको केवलकार हो । यसमा १७ वटा गोन्डला छन् । एउटा गोन्डलामा ८ जना यात्रु अट्छन् । यसको दूरी २.४ किलोमिटर छ । सेदीबगरबाट सराङकोट पुग्न केवलकारमा ९ मिनेट लाग्छ ।
असारको अन्तिमदेखि भदौबाहेक यो केबलकार बिहान ५ बजेबाट साँझ ६ बजेसम्म सञ्चालन हुन्छ । त्यतिबेला वर्षाको समय भएकाले सूर्य नदेखिने हुँदा ९ बजेबाट मात्र केवलकार चलाइने गरिएको छ । अघिपछि सबेरै केवलकार चढी सराङकोट पुगेर सूर्योदय हेर्नेको भीड लाग्छ । यो आन्तरिक तथा बाह्य दुबै पर्यटकलक्षित केवलकार हो ।
सेदीबगरबाट केवलकार चढेर १ हजार ५ सय ६४ मिटर अग्लो सराङ्कोट पुगिन्छ । नेपालीहरूका लागि केवलकारको भाडा ७ सय रुपैयाँ तोकिएको भने अन्य सार्क मुलुकका पर्यटकका लागि एक हजार रुपैयाँ र अन्य देशका पर्यटकका लागि १२ डलर तोकिएको छ । यहाँ ६० फिट अग्लो पाँचवटा मुख भएको गणेशको मूर्ति बनाइँदैछ । यसले धार्मिक पर्यटकको आवागमन बढाउने विश्वास अन्नपूर्ण केबलकारको छ । हालसम्म यो केवलकारमा दुई अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । हाल सराङकोट पुग्न केबलकार सजिलो माध्यम बनेको छ ।
मौलाकाली केबलकार
नवलपरासीको गैंडाकोटबाट मौलाकालिका मन्दिर जोड्नेगरी केबलकार निर्माण गरिएको छ । २०८० वैशाख १ गतेबाट सञ्चालनमा आएको मौलाकाली केवलकार निर्माण गर्न १३ महिना लागेको थियो । यसमा १२ वटा गोन्डला छन् । केवलकारले गैंडाकोटस्थित मौलाकालीको फेदीबाट मौलाकालिका मन्दिर जोड्ने काम गरेको छ । १ हजार २ सय मिटर दूरी रहेको केवलकार चढेर ५ मिनेटमा मन्दिर पुगिन्छ । केवलकारबाट मौसम खुल्दा गैंडाकोट र नारायणगढ बजार देख्न पाइन्छ ।
चितवनको सौराहा, मेघौली, कसरालगायतका पर्यटकीय क्षेत्र घुम्न जानेहरू प्रायः मौलाकालिका मन्दिरलाई गन्तव्य नबनाई फर्कंदैनन् । गएको एक वर्षमा दुई लाख ७५ हजार धार्मिक पर्यटकले केवलकार चढेको मौलाकाली केबलकारले जनाएको छ । केवलकार सञ्चालनमा आएपछि नेपालीहरू मात्र होइन, विदेशी पर्यटक पनि घुम्न आउने गरेका छन् ।
मौलाकालिका मन्दिर ५ सय ६१ मिटर उचाइमा छ भने मौलाकाली केवलकार ५ सय २७ मिटर उचाइमा छ । केवलकारबाट झरेर थोरै पैदल हिँडेपछि मन्दिरमा पुगिन्छ । शान्त वातावरण भएकाले मन्दिर वरिपरिको दृश्यले सबैलाई लोभ्याउँछ । प्रायः यो ठाउँमा केवलकार चढेर मन्दिर दर्शनका लागि आउनेहरूको भीड लाग्छ । त्यस्तै, केवलकार छेउमै ठूलो रिसोर्ट निर्माण भइरहेको छ । दुई महिनाभित्र मौलाकाली डाँडामा होटल सञ्चालनमा आउनेछ । केवलकारको भाडा पाँच सय ५० रुपैंयाँ छ । यसमा २ अर्बको लगानी भएको छ ।
लुम्बिनी केबलकार
लुम्बिनी केबलकार २०८० जेठ १५ गतेबाट सञ्चालनमा आएको हो । यसको निर्माण गर्न १४ महिना समय लागेको थियो । यसले रुपन्देही र पाल्पा जोड्ने काम गरेको छ । यो लुम्बिनी प्रदेशमा निर्माण गरिएको पहिलो केवलकार हो । यसमा यात्रु बोक्ने गोन्डला २५ वटा छन् । यो केवलकारले बुटवलको गोलपार्कबाट पाल्पाको वसन्तपुर जोड्छ । यसको दूरी २.६ किलोमिटर रहेको छ । बुटवलबाट केवलकार चढेर १२ मिनेटमा वसन्तपुर पुगिन्छ । केवलकार चढेको भाडा ७ सय ५० रुपैयाँ छ ।
यो केबलकार नयाँ पर्यटकीय गन्तव्य पहिचान गरेर निर्माण गरिएको हो । यसले वसन्तपुरमा पर्यटकीय गतिविधि बढाउन सघाउ पु¥याएको छ । त्यहाँ कामाख्या भगवतीको मन्दिर छ । त्यसैले दर्शन गर्न आउने धार्मिक पर्यटकको भीड लाग्छ । बुटवल–भैरहवाको गर्मी छल्न वसन्तपुर पुग्नेको लर्को लाग्छ । यो केवलकार ९ सय ६० मिटर उचाइमा निर्माण गरिएको छ । यसलाई नेपाली र भारतीय पर्यटकले गन्तव्य बनाउँदै आएका छन् । यो केवलकार तयार हुँदासम्म डेढ अर्ब रुपैयाँ खर्च भइसकेको छ । यो ठाउँमा १ सय ५० वटा कोठा क्षमताको पाँचतारे होटल निर्माणको क्रममा छ । अत्याधुनिक सुविधासहित तीन वर्षभित्र यसको निर्माण पूरा गर्ने लक्ष्य छ । यो केबलकार ५ अर्बको लगानीमा निर्माण भएको हो ।
बन्दीपुर केबलकार
बन्दीपुर केबलकार विसं २०८१ जेठ ३१ गतेदेखि सञ्चालनमा आएको हो । तनहुँको बन्दीपुर गाउँपालिका– ४ स्थित केबलकार चोकमा रहेको यो बटम स्टेसनको ५६ रोपनी क्षेत्रफलमा फैलिएको छ । केबलकारबाट बन्दीपुरको प्रसिद्ध खड्गदेवी मन्दिरको दर्शन गर्न सकिन्छ । केबलकारबाट ९० डिग्रीको उकालोजस्तो देखिने चट्टान आरोहण गरे झैं साहसिक अनुभूति लिन सकिन्छ । केबलकार चोकदेखि मन्दिरसम्म एक हजार ७ सय मिटर दुरी ७ मिनेटमा पार गर्न सकिन्छ । निर्माणाधीन १७ तले कुइन टावर नामको पाँचतारे होटल आगामी ५ महिनाभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।
केबलकारको ३१ गोण्डला छन्, तीमध्ये २१ वटा यात्रु बोक्ने गोण्डला रहेका छन् । प्रतिघण्टा ५ सय जना यात्री बोक्न सक्ने क्षमता रहेको यो केबलकार विभिन्न सिफ्ट गरेर हाल दैनिक बिहान ६ बजेदेखि राति ११ बजेसम्म चलाइने गरिएको छ । यो केबलकार १.०७ किलोमिटरको दूरीमा रहेको छ । यहाँबाट अन्नपूर्ण, धौलागिरि, गणेश, मनास्लु, लामटाङ हिमाल रेन्जको अवलोकन गर्न सकिन्छ ।
सिद्धार्थ केबलकार
सिद्धार्थ केबलकार हालै सञ्चालनमा आएको हो । यसको निर्माण सिद्धार्थ केबलकार कम्पनी र करिब एक सय जना लगानीकर्ताले गरेका हुन् । ती एक सय जना लगानीकर्तामा ८० जनाभन्दा बढी बुटवलकै बासिन्दा रहेका छन् । यसले बुटवलदेखि पाल्पाको नुवाकोट गढीसम्म जोड्ने काम गरेको छ । सुरुआती समयमा दैनिक पाँच हजार यात्रु आवतजावत गर्ने र अधिकतम दैनिक दस हजारसम्म यात्रु बोक्दै आइरहेको छ । यस केबलकारमा यात्रु बोक्ने २५ वटा गोन्डला रहेका छन् । केबलकार चढेको भाडा ७५० रुपैयाँ रहेको छ । यो केबलकार १.९० किलोमिटरको दुरीमा रहेको छ । १ अर्ब लगानीको यो केबलकार बन्न दुई वर्ष लागेको थियो ।
निर्माणको क्रममा रहेका केबलकारहरू
पाथीभरा मन्दिर, पाथिभरा, ताप्लेजुङ
जालपादेवी लम्कीचुहा, मोहन्याल, कैलाली
सिकलेस, मादी गाउँपालिका, कास्की
छिम्केश्वरी मन्दिर, छिम्केश्वरी, तनहुँ
चम्पादेवी चाल्नालखेल, चप्पादेवी पोखरा
मुक्तिनाथ, पोखरा, पर्वत म्याग्दी, मुस्ताङ
फुलचोकी, ललितपुर
नागार्जुन,काठमाडौं
खाणादेवी, रामेछाप
सिद्धबाबा, पाल्पा
Manakamana-Cable-Car-