आप्रवासन नीतिमा कडाइ गर्ने डोनाल्ड ट्रम्पको घोषणा, नेपालीलाई कस्तो असर पर्ला ?

टुरिजमफेस
काठमाडौं । डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाको ४७ औं राष्ट्रपतिका रूपमा शपथ लिएका छन् । उनलाई अमेरिकाका प्रधानन्यायाधीश जोन रोबट्र्सले राजधानी वासिङ्टन डिसीस्थित क्यापिटल हिलको रोटुन्डा भवनमा आयोजित विशेष समारोहमा शपथ गराए । ट्रम्पको शपथ समारोहमा पूर्वराष्ट्रपतिहरू, नेताहरू, अर्बपतिहरू इलन मस्क, जेफ बेजोसलगायत उपस्थित थिए ।
शपथपछि ट्रम्पले अमेरिकाको स्वर्ण युग सुरु भएको बताउँदै आफ्नो नेतृत्वमा अमेरिका फस्टाउने र सम्मानित हुने दाबी गरे । उनले आप्रवासन र सीमासम्बन्धी नीतिअन्तर्गत अमेरिकी इतिहासकै सबैभन्दा ठूलो निर्वासन कार्यक्रम सुरु गर्ने समेत बताए । विभिन्न सञ्चार माध्यमहरूका अनुसार ट्रम्पले राष्ट्रिय सीमा आपतकाल घोषणा गर्ने सम्भावना छ । पद तथा गोपनीयताको शपथ लिएसँगै ट्रम्पले अध्यागमनलगायतका २ सय वटा कार्यकारी आदेश जारी गरेका छन् । ती आदेशहरूमा आप्रवासन तथा सीमा, व्यापार तथा अर्थतन्त्र, जलवायु र ऊर्जा, लिखतहरूको गोप्यता, विदेश नीति, गर्भपतन, टिकटकलगायतका मुद्दा समावेश छन् । सोही समारोहमा ट्रम्पसँगै उपराष्ट्रपति जोडी भान्सले पनि शपथ लिए ।
पछिल्लो जनगणना अनुसार अमेरिकामा करिब २ लाख नेपाली छन् । ट्रम्पले अघि सारेका आप्रवासनलगायतका मुद्दाले त्यहाँ रहेका नेपालीहरू पनि प्रभावित हुने देखिएको छ । खासगरी, विद्यार्थीका रूपमा अमेरिका पुगेर स्थायी बसोबासको तयारी गरिरहेकाहरू, भिजिटलगायतका भिसामा अमेरिका पुगेर बसिरहेकाहरू तथा अवैध बाटोबाट अमेरिका पुगेकाहरू प्रभावित हुनेछन् ।
अन्तर्राष्ट्रिय विद्यार्थीसँग सामान्यतया गैरआप्रवासी भिसा हुन्छ । यस्तो भिसाले उनीहरूलाई अमेरिकामा अध्ययन गर्न अनुमति दिने भए पनि देशमा बस्नका लागि कानुनी हैसियत दिँदैन । ट्रम्पले सन् २०२१ को जनवरी ६ को क्यापिटल हिल दंगामा दोषी ठहरिएका आफ्ना १५ सय समर्थकहरूलाई क्षमादान गरेका छन् । प्क्राउ परेकालाई ६ सय भन्दा बढी संघीय अधिकारीहरूलाई आक्रमण गरेको अभियोग लगाइएको थियो । ट्रम्प सन् २०२४, नोभेम्बर ५ मा भएको चुनावमा रिपब्लिकन दलका तर्फबाट राष्ट्रपतिमा विजयी भएका थिए । उनले डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसलाई पराजित गरेका हुन् । ट्रम्प ३ सय १४ इलेक्टोरल मतसहित विजयी भएका थिए । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन कुल ५३८ मतमध्ये कम्तीमा २७० इलेक्टोरल मत आवश्यक पर्छ । ह्यारिसले २ सय २६ इलेक्टोरल मत पाएकी थिइन् । एजेन्सीको सहयोगमा