विदेश घुम्ने नेपाली बढ्दै, आम्दानी वृद्धि भएको हो ?

टुरिजमफेस
काठमाडौं । नेपालबाट घुमफिर गर्न विदेश जाने नेपालीको संख्या बढेको छ । अध्यागमन विभागका अनुसार सन् २०२४ मा विदेश घुमफिरमा २ लाख ७४ हजार ४२८ जना नेपाली गएका छन् । जसमध्ये १ लाख ५९ हजार ४३ पुरुष र १ लाख १५ हजार ३५६ जना महिला छन् । सन् २०२३ मा कुल २ लाख ४ हजार ५१८ जना नेपाली विदेश घुमफिरमा गएका थिए ।
बिजनेसका लागि मात्र विदेश जाने २० हजार
एक वर्षको अवधिमा बिजनेस प्रयोजनका लागि २० हजार नेपाली विदेश उडेका छन् । जसमा १७ हजार ४०५ पुरुष छन् । सन् २०२३ मा बिजनेसका लागि १८ हजार ९६४ बिजनेस विदेश गएका थिए ।
सन् २०२४ मा विभिन्न तालिम, सेमिनार र सम्मेलनमा भाग लिन जाने नेपालीको संख्या २४ हजार २६२ छ । जसमा १७ हजार १६६ पुरुष र ७ हजार महिला छन् । पर्यटनसहित सेवा क्षेत्रको आय पछिल्लो समय ऋणात्मक देखिन्छ । नेपालमा आउने पर्यटकभन्दा नेपालीले विदेश भ्रमणमा बढी खर्च गर्दा सो देखिने गर्छ । सन् २०२४ मा विदेशबाट नेपाल भ्रमणमा आएका पर्यटकको संख्या भने साढे ११ लाख हाराहारी रहेको छ ।