टु जी सेवा बन्द गर्ने तयारीमा नेपाल टेलिकम

टुरिजमफेस
काठमाडौं । नेपाल टेलिकमले १८०० मेगाहर्ज ब्याण्डमा सञ्चालन भइरहेको टु जी सेवा बन्द गर्ने तयारी गरेको छ । यसै आर्थिक वर्षभित्रमा टु जी सेवा बन्द गर्ने योजना रहेको टेलिकमको २१ औँ वार्षिकोत्सवका अवसरका आयोजित कार्यक्रममा कम्पनीकी प्रबन्ध निर्देशक संगीता पहाडीले जानकारी दिइन् । टेलिकमले प्रविधि रूपान्तरण तथा गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले फोर जीको विस्तारमा प्राथमिकता दिँदै टु जी सेवालाई विस्थापन गर्न लागेको उनको भनाइ छ ।
हालसम्म देशका ७७ जिल्लाका ७४४ स्थानीय तहमा नेपाल टेलिकमको फोर जी सेवा पुगिसकेको प्रबन्ध निर्देशक पहाडीले जानकारी दिइन् । कम्पनीले वायरलेस ब्रोडब्यान्ड सेवाको पहुँचलाई अझ विस्तार गर्दै आगामी दिनमा थप ३ सय ३३ वटा नयाँ ई नोड बी (बेस स्टेसन) निर्माणका लागि पूर्वाधार तयार गरिसकेको छ । थप १२ सय यस्ता पूर्वाधार स्थापनाका लागि आवश्यक उपकरण खरिदको बोलपत्र अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ । प्रबन्ध निर्देशक पहाडीले फाइभ जी सेवा सञ्चालनका लागि उपयुक्त व्यावसायिक रणनीति सहितको अध्ययन सम्पन्न भई प्रतिवेदन पेश गर्ने कार्य अन्तिम चरणमा रहेको बताइन् ।
हालसम्म टेलिकमका इन्टरनेट तथा डेटा सेवाका प्रयोगकर्ताको संख्या २ करोड ११ लाखभन्दा बढी पुगेको कम्पनीले जानकारी दिएको छ । यसमध्ये २ करोड ७ लाख जीएसएम मोबाइल डेटा प्रयोगकर्ता रहेको र फोर जी सेवा प्रयोग गर्ने १ करोड ६४ लाख ग्राहक रहेको पनि कम्पनीले जनाएको छ । नेपाल टेलिकमको एफटीटीएच डेटा सेवाका प्रयोगकर्ताको संख्या भने ३ लाख छ
।