अन्तर्राष्ट्रिय उडान हुन थालेपछि गौतमबुद्ध विमानस्थलमा यात्रुहरूको चहलपहल बढ्न थाल्यो

टुरिजमफेस
भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको चहलपहल बढ्न थालेको छ । उडान स्थगित गरेका अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले उडान पुनः सञ्चालन गरेपछि चहलपहल बढ्न थालेको हो ।
जाडो मौसममा भिजिबिलिटीको समस्या देखाउँदै कतार, जजिरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियाले मंसिरको अन्तिम सातादेखि उडान स्थगित गरेका थिए । मौसममा सुधार भएपछि जजिरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियाले माघ दोस्रो सातादेखि पुनः उडान सुरू गरेका छन् ।
नेपाल वायुसेवा निगमले भने नियमित उडान गर्दै आएको थियो । नेपाल वायुसेवा निगमसँगै अन्य तीन वटा विमान कम्पनीले उडान पुनः सञ्चालन गरेपछि विमानस्थलमा चहलपहल बढेको हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार दैनिक ३ वटा अन्तर्राष्ट्रिय उडान हुँदा चहलपहल बढेको छ ।
अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कम भिजिबिलिटी हुँदा पनि जहाज उडान र अवतरण गर्न सकिने रिक्वायर्ड नेभिगेसन पर्फर्मेसन–अथोराइजेसन रिक्वायार्ड (आरएनपी–एआर) प्रणाली लागू गरिएको छ । आरएनपी–एआर प्रणाली लागू भएपछि यो प्रविधि जडान भएका विमान र उक्त प्रविधिबारे तालिम लिएका पाइलटहरूले कम भिजिबिलिटी हुँदा पनि जहाज अवतरण गराउन सक्छन् । भैरहवामा हाल यान्त्रिक (आइएफआर) विधिमा जहाजहरू अवतरण र उडान गर्दै आएका छन् ।
यान्त्रिक विधिबाट अवतरण गराउँदा न्यूनतम एक हजार आठसय मिटर भिजिबिलिटी आवश्यक पर्छ । आरएनपी–एआर प्रणालीको प्रयोगबाट ८ सयदेखि ९ सय मिटर भिजिबिलिटीमा पनि जहाज अवतरण गराउन सकिन्छ ।