‘इनडोर सुटिङ स्टुडियो’का लागि बोलपत्र आह्वान

टुरिजमफेस
काठमाडौं । चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको ‘इनडोर सुटिङ स्टुडियो’का लागि बोलपत्र आह्वान गरेको छ । बोर्डले सूचना सार्वजनिक गर्दै निर्माणका लागि इच्छुक कम्पनीले आगामी ३० दिनभित्र ‘ई–बिडिङ’मार्फत आवेदन दिन सक्ने जनाएको छ ।
बोर्डका अध्यक्ष दिनेश डिसीले धेरै वर्षदेखि देखिएको चलचित्रकर्मीको सपना छिट्टै पूरा हुने जानकारी दिए । ‘नेपाली चलचित्र छायाङ्कनका लागि यो नेपालीकै भव्य स्टुडियो बन्ने छ । यो परियोजनाले स्वदेशी चलचित्र उद्योगलाई अत्याधुनिक प्रविधिसहित सहज ढङ्गको सुटिङस्थल प्रदान गर्नेछ, त्यसकारण यो सम्पूर्ण चलचित्रकर्मीको पर्खाइको एक सपना हो,’ उनले भने ।
बनेपाको ४२ रोपनी क्षेत्रफलमा निर्माण हुने उक्त स्टुडियो विगत केही वर्षदेखि योजनामा रहे पनि कार्यान्वयनमा जान सकेको थिएन । स्टुडियोको शिलान्यास दुई महिनाभित्रै गर्ने योजना रहेको अध्यक्ष डिसीले बताए । ‘मैले बोर्डमा अध्यक्षका रुपमा पद सम्हालेदेखि नै गरिरहेको कार्यले अहिले मूर्तरुप पाउँदै छ, स्टुडियोसँगै अहिले आवश्यक रहेको नयाँ चलचित्र नीति पनि छिट्टै पाउने छौँ,’ अध्यक्ष डिसीले भने । उनले २०८२ साल वैशाख १ गतेदेखि ‘रियल टाइम बक्स अफिस’ लागू गर्ने तयारी भइरहेको जानकारी दिए । रासस