जहाज थपेर मात्रै नेपाल एयरलाइन्स उठ्दैन, पुनर्संरचनामा जोड दिनुपर्छ : मन्त्री पौडेल
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल वायुसेवा निगम गम्भीर आर्थिक तथा व्यवस्थापकीय संकटबाट गुज्रिरहेको बताएका छन्। उनले निगमको आधारभूत संरचना र व्यवस्थापनमा सुधार नगरी नयाँ जहाज थप्दैमा संस्थाको अवस्था सुधार नहुने स्पष्ट पारे।
प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले निगमको प्रशासनिक संरचना, व्यवस्थापन र सञ्चालन प्रणालीमा व्यापक सुधार आवश्यक रहेको बताए। उनका अनुसार अहिलेको अवस्थामा फ्लीट विस्तारभन्दा पहिले संस्थागत कमजोरी हटाउनु महत्वपूर्ण छ।
मन्त्री पौडेलले निजी क्षेत्रको कुनै कम्पनी यस्तै आर्थिक अवस्थामा पुगेको भए बन्द हुने अवस्था आउन सक्ने बताए। तर नेपाल वायुसेवा निगम राष्ट्रिय ध्वजावाहक भएकाले यसको भूमिका नाफा–नोक्सानमा मात्र सीमित नरहेको उनको भनाइ छ।
निगम पर्यटन प्रवर्द्धन, रोजगारी, निजी क्षेत्रको व्यवसाय र मुलुकको राष्ट्रिय प्रतिष्ठासँग समेत जोडिएको भन्दै उनले यसको संरक्षणका लागि ठूलो स्तरको सुधार र पुनर्संरचना आवश्यक रहेको बताए।
उनले निगमलाई सुधार गर्न अब कठिन निर्णय लिनुपर्ने समय आएको उल्लेख गरे। निगमको ऋणभार कम गर्ने, इक्विटी बढाउने तथा उच्च ब्याजदरको पुनरावलोकन गर्नुपर्ने उनको भनाइ छ।
मन्त्री पौडेलले निगमको फ्लीट विस्तार र आधुनिकीकरणलाई पनि अघि बढाउनुपर्ने बताए। उनका अनुसार नयाँ जहाज खरिद वा लिजमा ल्याउने विषयसँगै वाइडबडी जहाजको ओभरहलका लागि आवश्यक ठूलो रकम व्यवस्थापन गर्न तत्काल वित्तीय योजना बनाउनुपर्ने अवस्था छ।
निगमको दीर्घकालीन सुधारका लागि सार्वजनिक–निजी साझेदारीको मोडलमा अघि बढ्ने सरकारको नीति रहेको उनले जानकारी दिए। यस विषयमा सरोकारवालाबीच पर्याप्त छलफल र सार्वजनिक बहस आवश्यक रहेको पनि उनले बताए।
कोभिड–१९ महामारीका बेला निगमको ब्याज रकम पुँजीकरण गरिएको प्रसंग उल्लेख गर्दै मन्त्री पौडेलले त्यसले निगममाथि थप आर्थिक भार सिर्जना गरेको टिप्पणी गरे।
उनले निगमको व्यवस्थापन पक्षमा समेत थुप्रै कमजोरी रहेको औंल्याए। विशेषगरी आवश्यक जनशक्ति व्यवस्थापन, प्रभावकारी मार्केटिङ तथा संस्थाको सञ्चालन र विस्तारका लागि स्पष्ट रणनीतिक योजना अभाव रहेको उनले बताए।
