संसारमा कम भ्रष्टाचार डेनमार्क र बढी साउथ सुडानमा, नेपालको अवस्था कस्तो ?

टुरिजमफेस
काठमाडौं । डेनमार्क संसारमा सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकको सूचीमा परेको छ । सबभन्दा बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा भने साउथ सुडान छ ।
ट्रान्सपरेन्सी इन्टरनेशन नेपालले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांकअनुसार एक सय ८० देश सम्मिलित सूचकांकमा डेनमार्क विगत सात वर्षदेखि लगातार ९० अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमो रूपमा रहँदै आएको छ । साउथ सुडान भने आठ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा दर्ज भएको छ ।
सूचकांकमा एक सय अंकले अति स्वच्छ र शून्य अंकले अति भ्रष्ट जनाउँछ । सर्वेक्षण गरिएका मुलुकको औसत अंक यस वर्ष पनि ४३ नै कायम रहेको छ । नेपाल भ्रष्टाचार हुने मुलुकको एक सय सातौं स्थानमा रहेको ट्रान्सपरेन्सी इन्टरनेसन नेपालले जनाएको छ । नेपालले १०० अंकमा जम्मा ३४ अंक प्राप्त गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । यस नतिजाले भ्रष्टाचारविरुद्ध नेपालमा प्रभावकारी काम कारबाही अगाडि बढाउन आवश्यक देखिएको अध्यक्ष मदनकृष्ण शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
दक्षिण एसियाली मुलुकहरूमा भुटानले ७२ अंक, भारतले ३८ अंक, मालदिभ्सले ३८ अंक, श्रीलंकाले ३२ अंक, पाकिस्तानले २७ अंक, बङ्गलादेशले २३ अंक र अफगानिस्तानले १७ अंक प्राप्त गरेका छन् । छिमेकी चीनले ४३ अंक प्राप्त गरेको छ ।