चीनमा विवाहदर २० प्रतिशतले घट्यो, यस्तो छ कारण

टुरिजमफेस
काठमाडौं । चीनमा विवाहदर २० प्रतिशतले घटेको छ । चीनको नागरिक मामिला मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्ष विवाह दर्ता संख्या ६१ लाखमा झरेको छ । सो संख्या चीनले सन् १९८६ मा विवाह दर्ताको सार्वजनिक अभिलेख राख्न थालेपछिकै सबभन्दा कम रहेको ब्लुमबर्गले जनाएको छ ।
यो सन् २०१३ मा पुगेको उच्चतम संख्याको आधा भन्दा पनि कम हो । कोरोना महामारी अन्त्य भएपछि सन् २०२३ मा विवाहको संख्या बढेर ७७ लाख नजिक पुगेको थियो तर सन् २०२४ मा घटेको छ । चीनको जनसंख्या सन् २०२४ मा लगातार तेस्रो वर्ष घटेको छ । चिनियाँ ज्योतिषशास्त्रमा ड्रेगन वर्ष बच्चा जन्माउनका लागि शुभ मानिने भएकाले गत वर्ष अघिल्लो वर्षको तुलनामा पाँच लाख २० हजार बढी बच्चा जन्मिए पनि जनसंख्या भने घटेको थियो । सन् २०२४ मा चीनको कुल जनसंख्या १३ लाख ९० हजारभन्दा धेरैले घटेर एक अर्ब ४० करोड आठ लाखमा झरेको थियो ।
चीनले यो शताब्दीको अन्त्यसम्ममा कुनै पनि देशले इतिहासमा भोगेको सबभन्दा ठूलो जनसंख्या गिरावट भोग्ने संयुक्त राष्ट्रसंघले चेतावनी दिइसकेको छ । चीन सरकारले घट्दो जनसंख्यालाई सम्बोधन गर्न युवालाई विवाह गर्न र विवाहित दम्पतीलाई बच्चा जन्माउन प्रोत्साहन गरिरहे पनि सफल हुन सकेको छैन । संयुक्त राष्ट्रसंघले गत वर्ष सार्वजनिक गरेको ‘वल्र्ड पपुलेसन प्रस्पेक्ट्स २०२४’ का अनुसार सन् २१०० सम्ममा चीनको जनसंख्या ७८ करोड ६० लाखले घटेर सन् १९५० को दशकको उत्तरार्धको हाराहारी पुग्ने छ ।
त्यस्तै संख्याका हिसाबले चीनले अबका तीन दशकमा सबभन्दा धेरै जनसंख्यामा गिरावट खेप्ने छ । सन् २०५४ सम्ममा चीनको जनसंख्या २० करोडभन्दा बढीले घट्ने अनुमान छ । चीनमा जनसंख्या घट्नुमा सन्तान जन्माउने उमेरका महिला थोरै हुनु, बिहे ढिला गर्न थालेको र बच्चै नजन्माउने प्रचलन बढ्न थालेको लगायतका कारण रहेको उक्त प्रतिवेदनले भनेको छ ।
चीनको कम्युनिष्ट सरकारले जनसंख्या नियन्त्रण गर्न सन् १९७९ देखि एक बच्चामात्रै जन्माउन पाउने नीति ल्याएर कडाइका साथ लागू गरेको थियो । यद्यपि साढे तीन दशकपछि सन् २०१५ मा सरकारले एक बच्चाको नीति हटाए पनि चीनमा जन्मदर बढ्न सकेको छैन । एक बच्चाको नीति हटाए पनि जन्मदर नबढेपछि चीन सरकारले दुई वर्षअघि तीन बच्चा जन्माउन दम्पतीलाई प्रोत्साहन गर्ने निर्णय गरेको थियो । एजेन्सीको सहयोगमा