रारामा पहिलो पाँचतारे लक्जरी रिसोर्ट निर्माणको थालनी, साढे एक अर्ब लगानी

टुरिजमफेस
काठमाडौं । मुगुको रारा ताल क्षेत्रमा निर्माण हुने पहिलो पाँचतारे लक्जरी ‘रारा रिसोर्ट’ को शिलान्यास गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा रिसोर्ट निर्माणको थालनी गरिएको हो ।
रारा होल्डिङले निर्माण गर्ने रिसोर्ट दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तेस्रो लगानी सम्मेलनका क्रममा रारामा बन्ने पहिलो लक्जरी रिसोर्टका लागि अष्ट्रेलियन एक्सपर्ट ग्रुपले लगानी गर्ने गरी रारा होल्डिङ प्रालिसँग सम्झौता गरिएकोे थियो । रिसोर्टमा सुइट ब्लक, डिलक्स ब्लक, स्ट्यान्डर्ड ब्लक र मेन ब्लक गरी चार प्रकारका भिल्लाहरू निर्माण गरिनेछ । रिसोर्टमा एट्याच बाथरुमसहितका ६० कोठा हुनेछन्, जसमध्ये पहिलो चरणमा ४० वटा कोठा तयार गरिने योजना छ । रिसोर्टमा रेस्टुरेन्ट, मिटिङ हल, साउना, स्टिम, जिम हललगायतका सुविधा उपलब्ध हुने बताइएको छ ।
मुगुको छायानाथ नगरपालिका, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने लक्जरी रिसोर्टमा करिब एक अर्ब ५० करोड रूपैयाँ जति लगानी हुने अनुमान गरिएको छ । रिसोर्ट वातावरणमैत्री र मष्टो संस्कृति झल्किने गरी नेपाली डिजाइनमा निर्माण गरिने र स्थानीयस्तरमा उपलब्ध स्रोत तथा साधनको अधिकतम प्रयोग हुने निर्माण पक्षको भनाइ छ । समुद्र सतहदेखि करिब तीन हजार पाँच सय मिटर उचाइमा निर्माण हुने यो रिसोर्टबाट रारा ताल र त्यस क्षेत्रका हिमालको मनमोहक दृश्य देख्न सकिन्छ ।
‘यो परियोजना कर्णाली प्रदेशकै पहिलो लक्जरी रिसोर्ट हो, परियोजना निर्माण सुरु गर्नका लागि सबै प्रक्रिया लगभग अन्तिम चरणमा पुगेका छन्, मुगुवासी सबैसँगको छलफल र सहकार्यमा यस परियोजनालाई बढीमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएका छौँ’, रारा होल्डिङका अध्यक्ष अभिषेकविक्रम शाहले भने ।
‘लगानीको वातावरण बनाउन सरकार तयार’
यसैबीच वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले लगानीको वातावरण निर्माण गरेको बताएका छन् । रारा रिसोर्टको शिलान्यास समारोहमा उनले यस आयोजनाको निर्माणले राराको मात्र नभई समग्र मुलुककै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने समेत बताए । मन्त्री ठकुरीले लगानी सहजीकरणका लागि सरकारले अध्यादेश ल्याएको उल्लेख गर्दै यसबाट व्यावसायिक वातावरण सिर्जना भई मुलुकको आर्थिक विकासमासमेत टेवा पुग्ने विश्वास व्यक्त गरे । व्यावसायिक सुरक्षा र सुरक्षित लगानीका वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उनले बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानबहादुर शाहीले कर्णाली प्रदेशमा हुने सबैखाले लगानीको सुरक्षित वातावरण बनाउन राजनीतिक सहजीकरणको भूमिका निर्वाह गरिने बताए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विनिता कठायतले कर्णालीमा लगानी प्रवर्द्धन र व्यावसायिक सुरक्षाको वातावरण बनाइने बताइन् ।