एमसिसी परियोजना पनि रोकियो

टुरिजमफेस
काठमाडौं । अेमरिकाले नेपालमा सञ्चालित मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना पनि रोकेको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशअनुसार अमेरिकी सहायताका परियोजना र सबै कार्यक्रम रोकिएका थिए । त्यतिखेर एमसिसीलाई निरन्तरता दिने भनिएको छ । तर अहिले इमेलमार्फत् एमसिसी परियोजना पनि रोकिएको जानकारी प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।
‘अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसनले इमेलमार्फत् नेपाल सरकार र उक्त निकायबीच सम्वत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरूसँग सम्बन्धित एमसिसी फन्डबाट भुक्तानी हुने क्रियाकलापहरू अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको छ,’ अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । एमसिसी अमेरिकी सरकारबाट ५० करोड अमेरिकी डलर अनुदान सहयोग प्राप्त गर्ने योजना हो ।
उक्त अनुदान नेपालको विद्युत प्रसारण लाइन र सडक मर्मतमा खर्च गर्ने सम्झौता छ । एमसिसीबाट प्राप्त हुने ५० करोड डलरमध्ये ३९ करोड ८० लाख डलर विद्युत प्रसारण लाइन निर्माणमा खर्च गर्ने योजना छ र सोही अनुसार ठेक्का पनि भएका छन् । एमसिसीको ५ करोड २० लाख डलरले पूर्वपश्चिम राजमार्गको धानखोला, भालुवाङ हुँदै लमहीदेखि शिवखोलासम्मको सडक स्तरोन्नति गरिने योजना थियो ।