१४ औँ दक्षिण एसियाली खेलकुद अर्को वर्ष पाकिस्तानमा

टुरिजमफेस
काठमाडौँ । १४ औँ दक्षिण एसियाली खेलकुद (साग) आउँदो वर्षको जनवरी २३ देखि ३१ सम्म पाकिस्तानमा आयोजना हुने निर्णय भएको छ । दक्षिण एसियाली ओलम्पिक परिषद्को लाहोरमा बसेको बैठकले साग सन् २०२६ जनवरी २३ देखि ३१ सम्म गर्ने निर्णय गरेको हो ।
सागका खेलहरू पाकिस्तानको लाहोर, इस्लामावाद र फैसलावादमा हुनेछन् । दक्षिण एसियाली ओलम्पिक परिषद्का अध्यक्ष तथा पाकिस्तान ओलम्पिक एसोसिएसनका अध्यक्ष खालिद मोहम्मदको अध्यक्षतामा बसेको बैठकले सागमा २७ खेल समावेश गर्ने निर्णय गरेको छ । साथै आयोजक राष्ट्रले थप २ खेल समावेश गर्न पाउने प्रावधान छ । कुनै खेल हटाइएमा वा चारभन्दा कम राष्ट्रले सहभागिता जनाएमा त्यो खेल हटाइनेछ ।
बैठकमा सबै सात दक्षिण एसियाली देशका ओलम्पिक कमिटीका प्रतिनिधिहरूले भाग लिएका थिए, जसमा भारतको ओलम्पिक एसोसिएसनले अनलाइन रूपमा सहभागिता जनाएको थियो । १३ औँ दक्षिण एसियाली खेलकुद सन् २०१९ मा नेपालमा सम्पन्न भएको थियो ।