जलपर्यटनः सुदूरपश्चिमले फर्काउन सक्छ लय

टुरिजमफेस
काठमाडौं । ‘भन्छन् नि पश्चिममा सूर्य पनि अस्ताउन मात्रै आउँछ ! यस्तै नियति भोगिरहेको छ पश्चिम नेपालको जल पर्यटनले । कतिपय व्यापारीले त नेपालमा जलयात्राको युग सकिन लागेको तर्क गरिरहेका छन्, जबकि पश्चिम नेपालमा जल पर्यटनलगायत समग्र पर्यटन क्षेत्रमा व्यावसायिक युग सुरु नै भएको छैन”, व्यवसायी जनेश भण्डारीको भनाइ हो यो ।
उनी पूर्वी क्षेत्रमा विभिन्न कारणले जलयात्रा (¥याफ्टिङ) सङ्कटमा पर्न थालेको भनेर चिन्ता व्यक्त भइरहँदा ‘भर्जिन’ क्षेत्रका रूपमा रहेको पश्चिम नेपाल, विशेषगरी सुदूरपश्चिममा यसको व्यावसायिक विकासका लागि गम्भीर विमर्श हुनै नसकेको धारणा राख्छन् । ‘विभिन्न मञ्च र संवादमा पूर्वतिर काम गरिरहेका व्यवसायीहरूले जलयात्राको युग सकिन लागेको भनेर चिन्ता व्यक्त गर्छन् ।
सुदूरपश्चिममा भने अझै व्यावसायिक युग सुरु भएन,’ कर्णाली नदीको बाजुराखण्डमा ¥याफ्टिङ सञ्चालन गरिरहेका व्यवसायी भण्डारी भन्छन्, ‘राज्यले सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनका लागि लगानी र प्रचारप्रसार नै गर्न सकेको छैन । व्यवसायीले पनि पूर्वमा मात्रै गतिविधि गर्ने र केही समस्या भएमा पलायन हुने तर सुदूरका सम्भावनाबारे चासो नराख्ने समस्या यथावत छ । म त भन्छु धेरै कुरा पूर्वमा सुरु हुन्छ, त्यतै अन्त्य हुन्छ । जलपर्यटनको हल्ला पनि यही हो ।”
अर्का व्यवसायी देवराज जैशी विगतमा भूगोल र सम्पर्क सञ्जालको अभावका कारण सुदूरपश्चिमलगायत पश्चिम क्षेत्र ओझेलमा परे पनि अब त्यो अवस्था नरहेकाले राज्यले गन्तव्य सुदूरपश्चिमको नीतिअनुसार काम गरेमा समग्र देशले नै लाभ लिनसक्ने बताउँछन् । ‘जलयात्राका हिसाबले विश्वप्रसिद्ध कर्णाली, महाकाली, सेती कर्णाली, बुढिगङ्गालगायत नदीहरू र खप्तड, बढिमालीका, रामारोशन, शुक्लाफाँटा, अपिसैपालजस्ता प्राकृतिक सम्पदा यही क्षेत्रमा छन् । धार्मिक पर्यटनको त्यत्तिकै सम्भावना छ । सरकारले चाहेमा यहाँ जलपर्यटनको विकासमार्फत समग्र क्षेत्रको विकासमा टेवा पुग्नसक्छ ।’ तर विडम्बना यी सम्भावनाको सदुपयोग गर्ने विषयमा अझै योजनाबद्ध विकासको खाका तयार गर्न सकिएको छैन । जल पर्यटनको हिसाबले त सुदूरपश्चिम झन् उपेक्षामा छ । नेपालमा जलयात्रा शुभारम्भ भएको ५० वर्ष पुग्न लागिसक्यो तर पश्चिम नेपाल भर्खरै बामे सर्दैछ । महाकालीमा त अझै जलयात्राको व्यावसायिक विकास हुनसकेको छैन ।
नेपाल एशोसियसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा) का निवर्तमान अध्यक्ष शिव अधिकारी देशका अन्य भूभागमा जलयात्रा अभ्यासको आधा शताब्दी हुँदासम्म महाकालीलगायत सुदूरपश्चिमका नदीहरूको व्यावसायिक प्रयोग नहुनु दुःखद भएको बताउँछन् । उनी भन्छन्, ‘विडम्बना नै भन्नुपर्छ देशमा अनुमतिप्राप्त नदीमध्ये महाकाली मात्रै ¥याफ्टिङ नचलेको नदी हो जबकि यो नदी सम्भावनाका हिसाबले विश्वभर प्रसिद्ध छ । देशमा ¥याफ्टिङ सञ्चालन भएको दशकौँ हुँदासमेत यहाँ भर्खरै सम्भावनाका कुरा हुँदैछन् ।’
नाराका नवनिर्वाचित सचिव जैशी काम गर्न चाहने व्यवसायीको अभावले नभई राज्यको नीतिकै कारण सुदूरपश्चिम क्षेत्रका प्राकृतिक स्रोतको उपयोग र पर्यटन प्रवद्र्धन हुनुनसकेको धारणा राख्छन् । उनी वागमति, गण्डकी र त्यस आसपास केन्द्रीत गतिविधिले महाकाली र कर्णालीजस्तो विश्वप्रसिद्ध नदीमा जलयात्राको व्यावसायिक विकास हुननसकेको र अन्य नदीमा पनि विभिन्न समस्या रहेको बताउँछन् । ‘महाकाली नेपाल भारत सीमा नदीसमेत भएकाले यहाँ व्यवसायीले मात्रै चाहँदैमा केही गर्न सकिने अवस्था छैन । नीतिगत रूपमा निर्बाध जलयात्रा गर्न सकिने गरी सरकारले सहजीकरण गरेमा नीजि क्षेत्र काम गर्न तयार छ तर सरकारका कुनै निकायको यसतर्फ चासो छैन,’ उनले भने, ‘अन्य नदीमा पनि त्यस्तै समस्या छ । सरकारले आवश्यक अध्ययन गरी सम्भावित रुट, बाटो विस्तार, प्रस्तानबिन्दु र गन्तव्यबिन्दुमा बासस्थानलगायत अत्यावश्यक पूर्वाधारमा लगानी र व्यवस्थापन नगर्दा अझै लाभ लिन सकिएको छैन ।’
डडेल्धुराको परशुराम नगरपालिका प्रमुख भरत बडायर जोशी अब महाकाली सीमा नदी हो भनेर पन्छिनुभन्दा पनि भारतसँगको सहकार्यमा यहाँ जलयात्राको विकास गरिनुपर्ने बताउँछन् । ‘दार्चुलादेखि कञ्चनपुरको दोधारा चाँदनीसम्म सहजै जलयात्रा गर्न सकिन्छ । गत वर्ष हामीले परशुरामधामदेखि कञ्चनपुरको खल्लासम्म करिब दुई घण्टामै यात्रा तय गरेर त्यो पुष्टि गरिसकेका छौँ । अब यसको व्यावसायिक विकासको खाँचो छ । त्यसका लागि भारतसँग संवाद गरेर, उसका सुरक्षा चासोलाई सम्बोधन गर्दै काम अगाडि बढाउनुपर्छ’, उनले भने, ‘देशमा तीन तहका सरकार छन् । संघ सरकारले दशकौँदेखि पर्यटन क्षेत्रमा करोडौं खर्चिरहेको छ तर सुदूरपश्चिममा त्यसको नगन्य हिस्सा लगानी भइरहेको छ । त्यसको उदाहरण जलयात्रा पनि हो । थोरै लगानी गरेर धेरै लाभ लिन सकिने यो क्षेत्रमा केही वर्षदेखि चर्चा सुरु भएको छ । अब यसलाई व्यावसायिक रूपमा अगाडि बढाउन आवश्यक सहजीकरणको खाँचो छ ।’
कुनै समय नेपालको जलपर्यटनमा स्वर्णीम युग थियो । यस क्षेत्रका जानकारहरू त्यो युग सन् १९९० को दशकलाई मान्ने गर्छन् तर सुदूरपश्चिमलाई त्यसले छोएन । यहाँ सम्भावनाका कुरा भए तर त्यसअनुसार काम भएनन् । विगत नौ वर्षदेखि कर्णाली (बाजुरा) खण्डमा ¥याफ्टिङ सञ्चालन गरिरहेका व्यवसायी भण्डारी भन्छन्, ‘पूर्वमा निजी सङ्घसंस्था, सरकारका सम्बद्ध निकाले हल्लाखल्ला गरे, लगानी बढाए, पूर्वाधारको विकास गरे त्यहाँ पर्यटन क्षेत्र फस्टायो तर हामीलाई भूगोल र पूर्वाधारले नै ठग्यो । अब त त्यो अवस्था छैन । पर्यटकहरूले हेर्न चाहने ग्रामीण जीवन, विकासको अवस्था, फरक रहनसहन, धार्मिक आस्था, प्राकृति विशिष्ट भूबनोट रहेको सुदूरपश्चिमको विकासका लागि अब सरकारले गन्तव्य सुदूरपश्चिमको सङ्कल्पसहित यहाँ केन्द्रीत हुन आवश्यक छ ।”