मानव–वन्यजन्तु द्वन्द्वः एक दशकमा चितवन निकुञ्ज आसपास सवा सय स्थानीयले ज्यान गुमाए

टुरिजमफेस
चितवन । राष्ट्रिय निकुञ्ज वा जंगली जनावर हेर्दा जति रमाइलो लाग्छ, त्यति नै जोखिम पनि हुने गर्छ । वन्यजन्तु र मानवबिच द्वन्द्व भइरहन्छ भन्ने एउटा उदाहरण चितवन राष्ट्रिय निकुञ्जमा रहेका जनावर र उनीहरूले गरिरहेको मानवीय क्षतिलाई लिन सकिन्छ ।
निकुञ्जका वन्यजन्तुले आक्रमण गर्दा हरेक वर्ष नै सर्वसाधारणको मुत्यु हुनाको साथै घाइते भइरहेका छन् । १० वर्षयता चितवन निकुञ्ज र यस आसपासको क्षेत्रमा वन्यजन्तुका कारण १२७ को ज्यान गएको निकुञ्जले जनाएको छ । चितवन निकुञ्ज दुर्लभ एकसिंगे गैंडा, पाटेबाघको मुख्य बासस्थल हो । नेपालमा सबैभन्दा धेरै बाघ र गैंडा चितवन राष्ट्रिय निकुञ्जमा नै पाइन्छन् । निकुञ्जमा जंगली हात्ती पनि छन् । ठूला जंगली जनावरले स्थानीयको ज्यान लिइरहेका छन् ।
गैंडाले लिन्छ धेरैको ज्यान
एक दशकमा १२७ जनाको ज्यान जाँदा सबैभन्दा धेरै मृत्यु गैंडाका कारणले भएको छ । यो अवधिमा गैंडाका कारण ५२ जनाले ज्यान गुमाए । गैंडापछि बाघका कारण ४० र जंगली हात्तीको आक्रमणले २८ जनाको मृत्यु भएको निकुञ्जले जनाएको छ । यीबाहेक मगर गोही, बँदेल तथा गौरी गाई (गौर) ले पनि सर्वसाधारणको ज्यान लिएका छन् । ज्यान गुमाउनेमा ९१ पुरुष र ३६ महिला छन् । त्यस्तै यस अवधिमा सय भन्दा बढी घाइते भएका छन् । विज्ञहरू जंगली जनावरलाई असुरक्षित महसुस हुन नदिनु नै सुरक्षाको मुख्य उपाय हुन सक्ने बताउने गर्छन् ।