भारतसँग समन्वय गरी इरानमा रहेका नेपालीहरूको उद्धार गरिने

टुुरिजमफेस
काठमाडौं । इजरायल–इरान युद्धका कारण इरानमा रहेका नेपालीलाई उद्धार गरिने भएको छ । भारत सरकारको सहयोगमा उनीहरूको उद्धार गरिने परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बताइन् ।
इरानमा रहेका १६ जना नेपालीको उद्धारका निम्ति आफूले भारत सरकारसँग आग्रह गरेको जानकारी दिँदै उनले त्यसप्रति भारत सकारात्मक रहेको बताइन् ।
‘इरानमा केही नेपाली हुनुहुन्छ । आफ्ना नागरिकको उद्धार गर्दा नेपालीको पनि उद्धारका निम्ति मैले भारत सरकारसँग आग्रह गरेकी छु । हामी भारतबाट सकारात्मक जवाफ आउनेमा विश्वस्त छौं,’ उनले भनिन् ।
सरकारको निर्देशनअनुसार भारतका लागि नेपालका राजदूत डा शङ्कर शर्मा पनि इरानमा रहेका नेपालीको उद्धारका निम्ति भारत सरकारसँग निरन्तर सम्पर्क एवं समन्वयमा छन् ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले इरानमा रहेका नेपालीको उद्धारका लागि त्यहाँस्थित भारतीय दूतवासका उपप्रमुखसँग सम्पर्क र समन्वय गरिरहेको बताए । रासस