यस्तो छ बेलायतको प्रतिष्ठित ‘ट्राभलाइभ’ अवार्ड प्राप्त गर्ने प्रकृति रिसोर्ट एन्ड अर्गानिक फार्म

टुरिजमफेस
काठमाडौं । दिगो पर्यटनसँगै हस्पिटालिटीको क्षेत्रमा परिचित प्रकृति रिसोर्ट एन्ड अर्गानिक फार्म बेलायतको प्रतिष्ठित ‘ट्राभलाइभ’ बाट प्रमाणीकरण भएको छ ।
खासगरी यसले दिगो पर्यटनमा योगदान पुर्याएबापत प्रमाणीकरण हुन सकेको हो । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३ हैबुङमा रहेको प्रकृति रिसोर्ट एन्ड अर्गानिक फार्मलाई वातावरणमैत्री पूर्वाधार विकास, अर्गानिक खेती, शून्य फोहोर व्यवस्थापन र सामुदायिक समावेशीकरणमा आधारित भएको भन्दै ‘ट्राभलाइभ’ प्रमाणीकरण प्रदान गरिएको रिसोर्टका प्रबन्ध निर्देशक अरुण श्रेष्ठले जानकारी दिए ।
स्वदेशी तथा विदेशी पर्यटकलाई दिगो पर्यटनको मर्म अनुसार हस्पिटालिटी सेवा प्रदान गर्दै आएको प्रकृति रिसोर्ट यसरी प्रमाणीकरण हुने नेपालका थोरै रिसोर्टमध्ये एक हो ।
उक्त रिसोर्टले ग्लोबल सस्टेनेबल टुरिजम काउन्सिल तथा युएनटिओको दिगो विकास लक्ष्यहरूमा आधारित १४३ मापदण्ड पूरा गरेपछि ‘ट्राभलाइभ’ प्रमाणीकरण प्राप्त गर्न सकेको श्रेष्ठले बताए । ‘यो उपलब्धिले रिसोर्टको दीर्घकालीन दिगो अभ्यासहरूमा मान्यता दिने र नेपाली पर्यटन उद्योगमा दिगो प्रवृत्तिको विकास गर्न प्रेरणा मिलेको छ,’ उनले भने, ‘ट्राभलाइभको प्रमाणीकरणले नेपालको पर्यटनलाई विश्वबजारमा उत्तरदायी र जलवायुमैत्री गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुग्ने अपेक्षा छ ।’
काठमाडौंको सुन्दरीजल हुँदै जान सकिने रिसोर्ट सन् २०१३ देखि सञ्चालनमा छ । रिसोर्ट स्थापना कालदेखि नै वातावरणमैत्री पूर्वाधार विकास, अर्गानिक खेती, शून्य फोहोर व्यवस्थापन र सामुदायिक समावेशीकरणको आधारमा सञ्चालन हुँदै आएको श्रेष्ठले बताए । सन् २०२४ को मे महिनादेखि प्रमाणीकरणको प्रक्रिया सुरु भई अडिट सन् २०२५ मे ३१ गरिएको थियो ।
अडिटका लागि ऊर्जा खपत, फोहोर न्यूनिकरण, दिगो स्रोत व्यवस्थापन, न्यायपूर्ण स्रोत र सामुदायिक संलग्नताका क्षेत्रको मूल्यांकन गरिएको थियो ।
श्रेष्ठले रिसोर्ट ‘ट्राभलाइफ’ प्रमाणीकरणले नेपालको पर्यटन क्षेत्रको समग्र दिगोपनप्रति प्रतिबद्धता गरेको उल्लेख गर्दै वातावरणीय र सामाजिक उत्तरदायित्वमा आधारित पर्यटन अभ्यासलाई नयाँ दिशा प्रदान गर्ने बताए ।