प्रतिनिधि सभा बैठक : बहुविवाहलाई मान्यता दिनेगरी कानुन बन्न लागेको विषयमा सरकारको जवाफ माग

टुरिजमफेस
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले बहुविवाहलाई मान्यता दिनेगरी कानुन बन्न लागेको विषयमा सरकारको जवाफ माग गरेका छन् ।
बैठकको आकस्मिक समयमा सांसदहरुले बहुविवाहसम्बन्धी सम्भावित कानुनी मस्यौदालाई लिएर सरकारको जवाफ माग गरेका हुन् ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले बहुविवाहलाई कानुनी मान्यता दिनेगरी विधेयकको मस्यौदा तयार गरिरहेको भन्ने सार्वजनिक चर्चा र सञ्चारमाध्यममा आएका समाचारप्रति सांसदहरूले आपत्ति जनाएका छन्।
सांसद सुनिता बरालले बहुविवाह गैरकानुनी भएको र यसलाई मान्यता दिने कुनै पनि प्रयासलाई अस्वीकार्य ठहर गर्दै संसद्मा सरकारको स्पष्ट जवाफ माग गरिन् । “समाजमा महिलाहिंसाको दर उच्च छ । यस्तो संवेदनशील विषयमा कानुन निर्माणको प्रक्रिया गम्भीर र जिम्मेवार ढङ्गले हुनुपर्छ”, उनले भनिन् ।
सांसद रुपा सो.शी (चौधरी)ले पनि यो विषयको सत्यताका बारेमा प्रश्न उठाउँदै “महिलाहरू आज पनि आफ्नो अधिकारका लागि सङ्घर्षरत छन्, त्यही बेला बहुविवाहलाई वैधानिकता दिने विषय आउनु गम्भीर विषय भएको बताइन् ।
सांसद रमा कोइराला पौड्यालले पनि बहुविवाहसम्बन्धी कानुनी मस्यौदा संसद्मा नआइपुग्दै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा यसको चर्चा हुनु आफैँमा चिन्ताको विषय भएको बताइन् । उनले विषयको संवेदनशीलतालाई ध्यानमा राख्दै मन्त्रालयले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने आवश्यकता औँल्याइन् ।
बहुविवाहसम्बन्धी विवादसँगै आजको बैठकमा किसानका समस्यालाई पनि प्रमुख रुपमा उठाइएको छ । सांसद रामप्रकाश चौधरीले तराई–मधेस क्षेत्रलाई विपद् सङ्कटग्रस्त घोषणा गरिए पनि किसानहरूले राहत महसुस नगरेको बताए । “सिँचाइ अभाव, पुराना डिप ट्युवबेल बिग्रिएर काम नलाग्ने हुनु, सिँचाइका लागि पर्याप्त विद्युत् पूर्वाधार अभाव, मलखाद अभावजस्ता समस्याले किसान विचल्लीमा छन्”, उनले संसद्मा सुनाए ।
सरकारले सहुलियतमा मल दिने भनिए पनि त्यो किसानको हातसम्म नपुगेको सांसद ईश्वरीदेवी न्यौपानेको भनाइ छ । सांसद रञ्जुकुमारी झाले तराईलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको र यस वर्ष अन्न उत्पादनमा गिरावट आउने देखिएको बताइन् । तराई क्षेत्रमा पानीको अभाव हुन नदिने दीर्घकालीन समाधानका लागि चुरे संरक्षण र प्रभावकारी सिँचाइ आयोजना निर्माण जरुरी रहेको उनकने भनाइ थियो ।
सांसद ज्वालाकुमारी साहले वीर अस्पतालमा चिकित्सकको सेवा सुविधा अपुग रहेको, लामो समयदेखि दरबन्दी नबढेको र चिकित्सकहरू न्यून सेवा सुविधाको भरमा सेवा दिइरहेको विषय सदनमा उठाए ।
सांसद रामकुमार राई र सांसद ज्ञानु बस्नेत सुवेदीले सवारी दुर्घटनाको सङ्ख्या बढ्दै गएको विषयमा चिन्ता व्यक्त गर्दै सवारीसाधनको प्राविधिक परीक्षण र सडक सुधारको माग गरे ।
सांसद कृष्णकुमार श्रेष्ठले सिमरा क्षेत्रका उद्योगहरूबाट निस्कने रासायनिक फोहरले स्वास्थ्य, पशुचौपाया र बालीमा असर पारिरहेको बताउँदै तत्काल व्यवस्थापनको माग गरे ।
सांसद विजुला रायमाझीले अर्घाखाँचीमा बादर र बँदेलले बाली नष्ट गरिरहेको विषय उठाउँदै यसको स्थायी समाधान खोज्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराए ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिनको माग दोहो¥याउँदै विरोध जारी राखेका छन् ।