गाडी बिक्री गर्दा आयाम इन्टरकन्टिनेन्टल प्रालिको झुटो आश्वासन, व्यवसायी विस्थापित र ऋणमा

टुरिजमफेस
काठमाडौँ । आयाम इन्टरकन्टिनेन्टल प्रालिले गाडी बिक्री गर्दा व्यवसायीहरूलाई झुटो आश्वासन दिएको आरोप लागेको छ । गाडी खरिद गर्दा बिग्रिएमा दुई वर्षसम्म सबै खर्च व्यहोर्ने सम्झौता गरेको कम्पनीले उल्टै बनाएको खर्च समेत तिराउने गरेपछि व्यवसायीले बनेको गुनासो गरेका छन् ।
दिक्तेल रुपाकोट हलेसी दर्शन यातायात प्रालि.ले फोर्स कम्पनीका गाडीहरू खरिद गरी पीडित बन्न पुगेका यातायात व्यवसायीहरूको तर्फबाट पत्रकार सम्मेलन गर्दै आफूहरू ठगिएको बारे जानकारी गराएको हो ।
अध्यक्ष हरिबहादुर राईद्वारा जारी विज्ञप्तिमा कम्पनीको झुटो आश्वासनले पीडा र अन्यायमा परेको उल्लेख छ ।
यस्तो छ विज्ञप्ति
प्रेस विज्ञप्ति
मिति : २०८२ साउन २३ गते, शुक्रबार
फोर्स गाडी खरिदबाट पीडित बनेका यातायात व्यवसायीहरूलाई आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.ले पारेको मर्का र क्षतिपूर्ति माग सम्बन्धमा
आदरणीय पत्रकार मित्रहरू तथा सम्पूर्ण सञ्चारमाध्यमहरू,
सर्वप्रथम, हाम्रो यस पत्रकार सम्मेलनमा उपस्थित भइदिनुभएकोमा दिक्तेल रुपाकोट हलेसी दर्शन यातायात प्रा.लि. तथा फोर्स कम्पनीका गाडीहरू खरिद गरी पीडित बन्न पुगेका सम्पूर्ण यातायात व्यवसायीहरूको तर्फबाट हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्न चाहन्छौं । आज हामी अत्यन्तै दुःख र पीडाका साथ, नेपालका लागि फोर्स मोटर्सको आधिकारीक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.बाट हामीमाथि भएको चरम अन्याय, धोकाधडी र त्यसले हाम्रो व्यावसायिक एवं व्यक्तिगत जीवनमा पारेको असरबारे सत्यतथ्य सार्वजनिक गर्न यहाँ उपस्थित भएका छौं ।
हाम्रो संस्था, दिक्तेल रुपाकोट हलेसी दर्शन यातायात प्रा.लि., वि.सं. २०७० सालमा यातायात व्यवसायीहरूको हकहितमा काम गर्ने उद्देश्यले “दिक्तेल हलेसी यातायात व्यवसायी संघ“ को नाममा स्थापना भएको थियो । नेपाल सरकारले यातायात संघसंस्था खारेज गर्ने निर्णय गरेपछि, हामीले वि.सं. २०७५ साल जेठ २८ गते यसलाई कम्पनी ऐनअन्तर्गत प्रा.लि.मा दर्ता गरी निरन्तर रूपमा खोटाङ–काठमाडौं लगायतका ग्रामीण सडकहरूमा यात्रुवाहक सेवा प्रदान गर्दै आएका छौं ।
हाम्रो दुःख र पीडाको श्रृंखला वि.सं. २०७२ सालबाट सुरु हुन्छ, जब हाम्रो तत्कालीन संघका अध्यक्ष श्री महेश तामाङले आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.बाट फोर्स कम्पनीको ९ सिट क्षमताको ’गामा’ जिप खरिद गर्नुभयो । त्यसपछि, वि.सं. २०७३ सालमा कम्पनीका तत्कालीन बजार व्यवस्थापक श्री सन्तोष नेपालसँग भएको छलफल र उहाँले दिनुभएको आश्वासनपछि हामीले आफ्नो संस्थामा फोर्स कम्पनीका गाडीहरू भित्र्याउने भद्र सहमति ग¥यौं । कम्पनीले गाडीको प्रदर्शन, विशेषगरी कच्ची सडकमा यसको मजबुती र विश्वसनीयताको बारेमा ठूला–ठूला दाबीहरू प्रस्तुत गरेको थियो । सोही विश्वासमा परेर हामीले संस्थामा आबद्ध हुने नयाँ व्यवसायीहरूले फोर्स कम्पनीकै गाडी किन्ने एक भद्र सहमति समेत ग¥यौं र परीक्षणका लागि सुरुमा एउटा फोर–ह्वील गाडी खरिद गर्ने निर्णयमा पुग्यौं ।
सोही निर्णयबमोजिम, म, यसै संस्थाको महासचिव देवान राईले वि.सं. २०७३ साल जेठ ११ गते ग १ ज ६६५८ नम्बरको १३ सिटे क्रुजर फोर–ह्वील जिप खरिद गरें । उक्त गाडीको मूल्य रु. ४० लाख ५० हजार कायम गरी रु. ८ लाख १० हजार डाउन पेमेन्ट आयामका तत्कालीन प्रबन्ध निर्देशक श्री राजन लम्साललाई बुझाइयो र बाँकी रकम सिद्धार्थ बैंक, महाराजगञ्ज शाखाबाट ऋण लिएर गाडी सञ्चालनमा ल्याएँ । तर, हाम्रो दुर्भाग्य त्यहीँबाट सुरु भयो। गाडी किनेको ठ्याक्कै एक महिनापछि, वि.सं. २०७३ असार २५ गते, खोटाङको दिक्तेलस्थित कारागार नजिकै गुडिरहेको अवस्थामा गाडीको इन्जिन एक्कासि सिज हुन पुग्यो। नयाँ गाडी, त्यो पनि ’टेस्ट ड्राइभ’का लागि भनिएको र मेरो नाममा पास समेत भइनसकेको अवस्थामा इन्जिन सिज हुनु सामान्य घटना थिएन ।
मैले तत्कालै काठमाडौं गैरीधारास्थित आयाम इन्टरकन्टिनेन्टलको कार्यालयमा सम्पर्क गरी गाडी फिर्ता लिन र अर्को नयाँ गाडी उपलब्ध गराउन माग गरें । तर, कम्पनीका तत्कालीन एम.डी. श्री राजन लम्सालले गाडीको वारेन्टी भएकोले चिन्ता लिनुनपर्ने र तुरुन्तै मर्मत गरिदिने आश्वासन दिनुभयो । उहाँहरूकै आश्वासनअनुसार, वि.सं. २०७३ भदौ महिनामा कम्पनीका प्राविधिकहरू खोटाङ आएर गाडीको इन्जिन खोली काठमाडौं लगेर मर्मत गरी पुनः जडान गरिदिए ।
इन्जिन जडानपछि अब कुनै समस्या नआउने र आएमा सम्पूर्ण जिम्मेवारी लिने प्रतिबद्धता जनाइयो । तर, मर्मतपछि पनि गाडीले कम्पनीले दाबी गरेजस्तो काम गर्न सकेन । इन्जिन कमजोर हुने, गाडीले नतान्ने जस्ता समस्याहरू देखिन थालेपछि मैले एक हप्ताभित्रै कम्पनीलाई जानकारी गराएँ । केही महिनापछि दुधकोशी र सुनकोशीमा बेलिब्रिज जडान भएपछि मैले गाडीलाई काठमाडौं लगेर वि.सं. २०७३ मंसिर महिनामा कम्पनीका बजार व्यवस्थापक श्री सन्तोष नेपाललाई चाबी बुझाउँदै गाडीले भनेअनुसार सेवा नदिएकाले क्षतिपूर्ति माग गरें । लामो छलफलपछि वि.सं. २०७४ असार ८ गते म र कम्पनीबीच एउटा सम्झौता भयो, जसमा “दुई वर्षसम्म गाडीमा कुनै पनि खराबी आएमा सम्पूर्ण खर्च कम्पनीले वारेन्टीबापत व्यहोर्ने“ उल्लेख थियो। यही सम्झौताको आधारमा मैले पुनः गाडी सञ्चालन गर्ने प्रयास गरें । तर, सम्झौता केवल कागजमा सीमित रह्यो । गाडीको अवस्था झन्झन् बिग्रँदै गयो ।
२०७४ कार्तिक तिर फेरी इन्जिन सिज भयो । त्यसपछि मैले पुनः कम्पनीमा ३ लाख ५० हजार मेरै खर्चमा गाडी मर्मत गरें । फेरी पनि केही किलोमिटर गुड्न नपाउँदै गाडी बिग्रने, मर्मतमा अत्यधिक खर्च हुने र आम्दानी शून्य हुने अवस्था आएपछि मैले वि.सं. २०७५ मंसिर महिनामा गाडी र चाबीसहित कम्पनीको पेप्सीकोलास्थित ग्यारेजमा जिम्मा लगाएँ र यो कुराको जानकारी तत्कालीन एम.डी. राजन लम्साल र बजार व्यवस्थापक सन्तोष नेपाल दुवैलाई गराएँ । मैले स्पष्टसँग भनेँ, “एक वर्षसम्म हेर्दा पनि गाडीले काम गरेन, अब यो गाडी कम्पनीले नै फिर्ता लिनुपर्छ ।“
एक बर्ष भित्र नै गाडीको इन्जिन फेरी पनि बिग्रीएर कम्पनीमा नै बनाउँदा पनि अवस्था खराब भयो । त्यसैले कम्पनीले मलाई जसरी पनि क्षती पुर्ती दिनु पर्ने कुरा उठाँए । उहाँहरूले कम्पनीको व्यवस्थापनसँग सल्लाह गरेर निकास दिने मौखिक आश्वासन दिनुभयो, तर आजसम्म त्यो आश्वासन पूरा भएको छैन । आज ६ वर्षभन्दा बढी भइसक्यो, गाडी कम्पनीको ग्यारेजमा थन्किएको छ, तर म बैंकको किस्ता र ब्याजको भारीले थिचिएको छु।
मलाई कुनै निकास दिने छाँटकाँट नदेखेपछि मैले वि.सं. २०८१ पुस २४ गते कम्पनीमा लिखित निवेदन दर्ता गरी क्षतिपूर्तिको माग गरें । तर, कम्पनीले मेरो मागलाई ठाडै अस्वीकार गर्दै उल्टै गाडी मर्मत गरेको खर्च मैले नै व्यहोर्नुपर्ने र कुनै क्षतिपूर्ति नदिने भन्दै धम्कीपूर्ण व्यवहार देखायो । सुरुमा गाडी किन्दाका प्रबन्ध निर्देशक श्री राजन लम्साल एक सामाजिक व्यक्तित्व हुनुभएकोले उहाँबाट अन्याय नहोला भन्ने विश्वास थियो, तर उहाँले कम्पनी छाडिसक्नुभएको छ ।
हाल कम्पनीको प्रबन्ध निर्देशक श्री ध्रुवबहादुर थापा हुनुहुन्छ, जो मैले गाडी किन्दा कम्पनीको अध्यक्ष हुनुहुन्थ्यो । मेरो गाडीको समस्या र मैले भोगेको पीडाबारे उहाँ सुरुदेखि नै पूर्ण रूपमा जानकार हुनुहुन्छ । तर, आफू नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) को पूर्व अध्यक्ष भएको र आफ्नो पहुँचमाथि कसैले केही गर्न नसक्ने भन्दै उहाँले शक्तिको दुरुपयोग गरिरहनुभएको छ । मैले मेरो समस्या समाधानका लागि उहाँसँग पटक–पटक भेट्न खोज्दा र फोन गर्दा पनि उहाँले भेट्न र कुरा गर्न चासो देखाउनुभएको छैन ।
दिक्तेल रुपाकोट हलेसी दर्शन यातायात प्रा.लि.
अध्यक्षः हरिबहादुर राई
महासचिवः देवान राई (सम्पर्क नंः ९८५१०२०२३९ / ९७०४५८३२३९