लोडसेडिङ नेपालका लागि विगत भइसक्यो : ऊर्जामन्त्री खड्का

टुरिजमफेस
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लोडसेडिङ अब नेपालका लागि विगत भइसकेकाले यससम्बन्धी हल्ला निरर्थक भएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले अस्थायी अवरोध प्रणालीगत सुधार र उत्पादनलाई तीव्रताकासाथ अगाडि बढाइएकाले अब लोडसेडिङ नहुने विश्वास व्यक्त गरे ।
ऊर्जामन्त्री खड्काले भने, “नेपालले विद्युत् उत्पादन र बिक्री वितरणमा गरेको उपलब्धिका आधारमा स्पष्ट रूपमा भन्न सकिन्छ, लोडसेडिङ अब नेपालको विगतको विषय भइसक्यो । यसको पुनरावृद्धि कुनै सम्भावना देखिँदैन । अब, लोडसेडिङको कल्पना गर्नु पनि निरर्थक भइसकेको छ । मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले पटक-पटक सार्वजनिक रूपमा स्पष्ट गरिरहेको छ, की हाल देशमा लोडसेडिङ छैन ।”
मन्त्री खड्काले छिमेकी मुलुकमा विद्युत् निर्यात बढाउन दीर्घकालीन रणनीतिक कार्ययोजना तयार गरी कार्य गर्नुपर्ने आवश्यकता औंँल्याए । देशभर हाल नियमित विद्युत् आपूर्ति भइसकेको र कतिपय स्थानमा देखिएका अस्थायी अवरोध प्रणालीगत सुधारमार्फत समाधान हुँदै आएको उनले उल्लेख गरे ।
ऊर्जामन्त्री खड्काले आन्तरिक खपतपश्चात भारत र बङ्गलादेशमा बिक्री गरिरहेको र गतवर्ष मात्रै भारतमा २३ सय ८० मेगावाट र बङ्गलादेशमा ३० मेगावाट विद्युत् निर्यात गरिएको जानकारी दिए । उनका अनुसार हाल हाल रु १७ अर्ब ७२ करोड बराबरको विद्युत् निर्यात भइरहेको छ । साथै, रु १२ अर्ब ९२ करोड बराबरको जलविद्युत् आयात भइरहेको छ । नेपालले झण्डै रु पाँच अर्ब बराबरको मुनाफा लिइरहेको छ ।
मन्त्री खड्काका अनुसार आफूले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा देशको कूल विद्युत् जडित क्षमता करिब ३२ सय मेगावट रहेकामा हाल सो क्षमता बढेर झण्डै ३९ सय मेगावाड पुगेको छ । प्रतिव्यक्ति विद्युत् खपत चार सय युनिटबाट बढेर झण्डै चारसय ६० युनिट खपत भइरहेको उनले बताए ।