सगरमाथामा थुप्रिएको फोहोर संकलनमा नेपाल लाइफको सहकार्य

टुरिजमफेस
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सगरमाथामा थुप्रिएको फोहोर संकलनमा सहकार्य गरेको छ । राउन्ड टेबल नेपालसँगको सहकार्यमा प्रोजेक्ट केयर अभियानअन्तर्गत सगरमाथामा थुप्रिएका ५,००० किलोग्राम फोहोर संकलनमा सहकार्य गरेको कम्पनीले जनाएको छ ।
नेपाल लाइफ इन्स्योरेन्सको केन्द्रीय कार्यालय कमलादीमा आयोजित विशेष समारोहबीच राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालले फोहोर संकलन सम्बन्धी प्रतिवेदन कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीलाई हस्तान्तरण गरे ।
सो कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, राउन्ड टेबल नेपालका निवर्तमान अध्यक्ष नितेशकुमार अग्रवाल, राउन्ड टेबल नेपालका पदाधिकारीहरू, प्रोजेक्ट केयरको प्राविधिक साझेदारको रूपमा रहेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रतिनिधिहरू, फोहोर व्यवस्थापन, रि–साइकलिङ र वातावरणीय संरक्षणमा योगदान गर्दै आएको संस्था खाली सिसीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
नेपाल लाइफले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सगरमाथा सफाइ अभियान सञ्चालन गर्न राउण्ड टेबल नेपाल तथा प्राविधिक पार्टनर सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) सँग सहकार्य गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए ।
पहिलो चरणमा पाँच हजार किलोग्राम फोहोर संकलन गर्न सफल भएकोमा उनले सबै सरोकारवालालाई धन्यवाद दिँदै आगामी दिनमा पनि वातावरण रक्षाका निम्ति र नेपालको धरोहर र पहिचानको रूपमा स्थापित सगरमाथाको सौन्दर्यतालाई कायम राख्न नेपाल लाइफ सदैव तयार रहेको प्रतिबद्धता व्यक्त गरे । उनले सगरमाथा नेपाल मात्र नभई विश्वकै गहना भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताए ।
राउन्ड टेबल नेपालका अध्यक्ष अग्रवालले सगरमाथा क्षेत्रमा यसपटक ५ हजार किलो फोहोर संकलन गरिएको र आगामी दिनमा २५ हजार किलो फोहोर व्यवस्थापन गर्ने योजना रहेको जानकारी दिए । उनले राउन्ड टेबल नेपालले शिक्षा, स्वास्थ्य तथा वातावरणका क्षेत्रमा काम गर्दै आएको उल्लेख गर्दै यो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । सगरमाथा विश्वकै आकर्षण भएकाले आरोहीहरूको संख्यासँगै फोहोर बढ्ने क्रम तीव्र छ ।
काठमाडौं ल्याइको फोहोरलाई खाली सिसीको सहकार्यमा रि–साइकलिङ गर्ने योजना रहेको उनले बताए । साना प्रयासहरूले नै ठूलो प्रभाव पार्ने भन्दै अग्रवालले नेपाल लाइफलाई अभियानमा सहभागी भएकोमा धन्यवाद दिए ।