रास्वपाले रुपन्देही–३ को उपनिर्वाचनमा न्युरो सर्जन लेखजंग थापालाई उम्मेदवार बनाउने
टुरिजमफेस
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आउँदो कात्तिक १७ गते हुने रुपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । निर्वाचनका लागि डा. थापालाई अघि सार्ने निर्णय भएको रास्वपाले जनाएको छ । उपनिर्वाचनमा ९ जना व्यक्तिले उम्मेदवार बन्न इच्छा जाहेर गरे पनि थापा प्राइमरी निर्वाचनमा विजयी भएका थिए ।
सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्यालले उम्मेदवार बन्न आवेदन दिएका थिए ।
रुपन्देहीको सिद्धार्थनगर–९ अञ्चलपुर निवासी थापाले पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी र कलेज अफ मेडिकल साइन्सेज चितवनबाट डीएम न्युरोलोजी अध्ययन गरेका छन् ।
त्यस्तै उनले अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा ‘सेफ्टी क्वालिटी लिडरसिप एण्ड इन्फमेटिभ’ को समेत अध्ययन गरेका छन् । पछिल्लो समय राजनीतिमा चासो देखाउँदै उनी रास्वपामा प्रवेश गरेका थिए ।
