एससिओ सदस्य राष्ट्रलाई एक अर्ब ४० करोड डलर ऋण दिने चिनियाँ राष्ट्रपति सीको वाचा

टुरिजमफेस
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार चियानजिनमा आयोजित साङ्घाई सहयोग सङ्गठन (एससिओ) को वार्षिक शिखर सम्मेलनमा चीनले एससिओ विकास बैंकको स्थापना प्रक्रियालाई तीव्र बनाउन प्रयास गर्ने बताएका छन् ।
“हाल, विश्व अवस्था अझ जटिल र अशान्त बन्दै गइरहेको छ । सदस्य राष्ट्रहरूले अझ कठिन सुरक्षा र विकाससम्बन्धी जिम्मेवारीको सामना गरिरहेका छन्”, सीले फोरममा आफ्नो प्रारम्भिक सम्बोधनमा भने ।
उनले आगामी तीन वर्षमा एससिओ सदस्य राष्ट्रहरूलाई एक अर्ब ४० करोड डलर ऋण दिने वाचा गरेका छन् । यद्यपि उनले यो रकम नयाँ बैंकका लागि मात्र नभएको स्पष्ट पारे ।
यस शिखर सम्मेलनमा सी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा अन्य राष्ट्रका नेताहरू पनि सहभागी थिए ।
मूलतः मध्य एसियामा अमेरिकी प्रभावलाई सन्तुलन गर्न स्थापित यस समूहको आकार र प्रभाव पछिल्ला वर्षहरूमा विस्तार भए पनि, यो अझै धेरै हदसम्म सुरक्षा फोरमका रूपमा चिनिन्छ ।
बैंक र ऋण उपलब्ध गराउने प्रस्तावमार्फत सीले संस्थाको दायरा विकासतर्फ विस्तार गर्ने सङ्केत दिएका छन् । रासस