मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए, सार्क राष्ट्रबाट घुम्न आउने धेरै

फाइल फोटो
टुरिजमफेस
मुस्ताङ । जिल्लामा सन् २०२५ को आठ महिनामा एक लाख १६ हजार ७८७ विदेशी पर्यटक भित्रिएका छन् । सन् २०२५ को जनवरीदेखि अगस्टसम्म सार्क राष्ट्रबाट एक लाख एक हजार १६१ जना र अन्य देशबाट १५ हजार ६२६ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप)जोमसोमले जनाएको छ ।
कूल विदेशी पर्यटक सङ्ख्याको ८६ दशमलव ६२ प्रतिशत सार्क राष्ट्रबाट र १३ दशमलव ३७ प्रतिशत अन्य राष्ट्रका पर्यटक भित्रिएका एक्याप कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिए ।
सन् २०२५ को जनवरीमा सार्कका तीन हजार ८३० र अन्य राष्ट्रका ५१६ गरी चार हजार ३४६ जना, फेब्रुअरीमा सार्कका चार हजार ५१० र अन्य ७९३ गरी पाँच हजार ३०३, मार्चमा सार्कका १६ हजार ५०७ र अन्य दुई हजार ५८८ गरी १९ हजार ९५, अप्रिलमा सार्कका अठार हजार ३०४ र अन्य चार हजार ८४८ गरी २३ हजार १५२ जना, मेमा सार्कका २१ हजार ९४६ र अन्य तीन हजार ७८१ गरी २५ हजार ७२७, जुनमा सार्कका १९ हजार ६४९ र अन्य एक हजार २०९ गरी २० हजार ८५८, जुलाइमा सार्क नौ हजार ७९४ र अन्य ८२५ गरी १० हजार ६१९ र अगस्टमा सार्कका छ हजार ६२१ र अन्य एक हजार ६६ जना गरी सात हजार ६८७ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको एक्यापको तथ्याङ्क छ ।
त्यस्तै, सन् २०२४ को सोही अवधिभन्दा २०२५ मा विदेशी पर्यटकको सङ्ख्या २१ दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ । यसपटक २५ हजार ६७८ जना विदेशी पर्यटक बढी आएको कार्यालय प्रमुख गुप्ताले जानकारी दिए । सन् २०२४ को सोही अवधिमा सार्क राष्ट्रबाट ७८ हजार ७६० जना र अन्य राष्ट्रबाट १२ हजार ३४९ जना विदेशी पर्यटकले यहाँ भ्रमण गरेको गुप्ताले बताए ।
फाइल फोटो