भारतीय पर्यटकले बाँकेका होटल व्यवसाय चलायमान

नेपालगन्ज नाका
टुरिजमफेस
बाँके । बाँकेमा अर्बौं लगानी भएको होटल व्यवसायका लागि भारतीय पर्यटक मुख्य आधार बन्दै गएका छन् । पछिल्लो पटक सञ्चालनमा आएका क्यासिनोमा आउने भारतीय पर्यटकले होटल व्यवसायलाई चलायमान बनाएको होटल एशोसियन (हान) बाँकेका उपाध्यक्ष केशव न्यौपानेले बताए । उनले भारतीय पर्यटकको नेपालमा सहज आगमन र सत्कारमा ध्यान दिनसके होटल व्यवसायमा सकारात्मक प्रभाव पर्ने उल्लेख गरे ।
होटल व्यवसायी सङ्घका अध्यक्ष रङ्गबहादुर खड्काले बाँकेमा होटल व्यवसायमा लगानी बढ्दै गइरहेको बताउँदै अब पर्यटकको बसाइ लम्ब्याउने उपायतिर सरकारीस्तरबाट पनि पहल हुनु जरुरी रहेको बताए ।
पर्यटकलाई स्थानीय प्रशासनले सहयोगी भूमिकाभन्दा दुःख दिने नियत राख्दा समस्या हुने गरेकाले यसमा ध्यान दिन जरुरी रहेको बताए ।
होटल व्यवसायीलाई हेर्ने राज्यको दृष्टिकोण बदल्नुपर्नेमा जोड दिँदै अध्यक्ष खड्काले राज्यले होटल व्यवसायीलाई अभिभावकका रूपमा व्यवहार गर्न आग्रह गरे । उनले सरकारले पर्यटनलाई उद्योगका रूपमा बचाउ गर्न नसकेको र विनियोजित बजेट पनि अनावश्यक क्षेत्रमा खर्च भइरहेको गुनासो गरे ।
नेपालगञ्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्टले स्थानीय सरकारले होटल व्यवसायको विकासका लागि सहयोगी नीतिनिर्माणका लागि पहल गर्ने बताए । उनले नगरको सौन्दर्यकरणमार्फत पर्यटकलाई आकर्षण गर्ने योजनाअनुसार काम गरिरहेको उल्लेख गरे ।
नेपालगन्ज नाका