पूर्वन्यायाधीशको नेतृत्वमा जेनजी प्रदर्शनको घटना छानबिन गर्न उच्चस्तरीय जाँचबुझ समिति बन्ने, को को पर्लान् कारवाहीमा ?

फाइल तस्विर प्रदर्शनमा जुटेका जेनजी ।
टुरिजमफेस
काठमाडौं । सरकारले जेनजी प्रदर्शनका क्रममा भएका घटनाहरूको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय जाँचबुझ समिति बनाउने निर्णय गरेसँगै उक्त घटनामा को को दोषी देखिएलान् र उनीहरूलाई कस्तो कारवाही होला भन्ने चासो बढेको छ ।
गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालका अनुसार मन्त्रिपरिषद्ले पूर्वन्यायाधीशको नेतृत्वमा जाँचबुझ समिति बनाउने सैद्धान्तिक निर्णय गरेको तर त्यसमा को को रहने भन्नेबारे टुंगो लाग्न बाँकी रहेको बताए । सरकारले चाँडै जाँचबुझ समितिको टुंगो लगाउने बताइएको छ ।
भदौ २३ मा जेनजी समूहले प्रदर्शन गर्दा प्रहरीले व्यापक दमन गरेको थियो । सोही दमनका कारण पहिलो दिन नै २१ युवाको प्रहरीको गोलीद्वारा हत्या भएको थियो भने चार सय बढी घाइते भएका थिए । घटनापछि मृतकको संख्या बढ्दै जाँदा त्यस घटनामा ज्यान गुमाउनेको संख्या ७२ जना पुगेको छ भने सरकारी तथा निजी गरी खर्बौको क्षति भएको प्रारम्भिक अनुमान छ ।
घटनापछि तत्कालीन गृहमन्त्री रमेश लेखक सुरुमा र त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भएका थिए । प्रदर्शनको क्रममा भएको प्रहरी दमनको चौतर्फी विरोध भइरहेको छ । मन्त्रिपरिषद् बैठकले नै जेनजी आन्दोलनको क्रममा मृत्यु भएका तीन प्रहरीसहित सबैलाई १० लाख र अन्य खर्चका लागि पाँच लाख रूपैयाँ राहतको साथै सहिद घोषणा गर्ने निर्णय गरेको छ ।
त्यस्तै असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने र मृतकहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय सरकारले गरेको छ ।
फाइल तस्विर प्रदर्शनमा जुटेका जेनजी ।