खनालकी पत्नी चित्रकारको अवस्था सुधारोन्मुख
टुरिजमफेस
कीर्तिपुर । जेनजी प्रदर्शनका क्रममा घर आगजनी हुँदा गम्भीर घाइते हुनुभएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
जलन उपचारसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको कीर्तिपुर अस्पतालको सघन उपचार केन्द्र (आइसियु)मा खनाल–पत्नी चित्रकारको उपचार भइरहेको छ ।
घाइते चित्रकारको उपचारका क्रममा नेतृत्व गरिरहेका जलनविज्ञ डा कीरण नकर्मीले अस्पतालमा ल्याउँदाको अवस्थाभन्दा सुध्रिएको र हरसम्भव प्रयास गरिरहेको बताए । डा नकर्मीका अनुसार आज देब्रे हातको शल्यक्रिया गरिने र अवस्था हेरेर त्यसपछिका उपचार प्रक्रियाअघि बढाइने छ ।
यसैबीच नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री खनालले पत्नी चित्रकारको फोक्सो र देब्रे हातमा ध्यान केन्द्रित गर्दै चिकित्सकहरूले उपचार गरिरहेको जानकारी पाएको बताएका छन्। आगलागीका क्रममा फोक्सोमा हानिकारक ग्यास पास भई समस्या देखिएको र देब्रेहातमा गम्भीर जलन भएको बताइएको छ ।
फोक्सोमा हानिकारक ग्यास भरिएका कारण शल्यक्रिया गर्नुअघिको ‘एनेस्थेसिया’ (बेहोस पार्ने) विधि अपनाउन नपाउँदा समस्या सिर्जना भएको नेता खनालले जानकारी दिए ।
लामो समय प्राध्यापन पेसामा बिताएकी आफ्नी पत्नीलाई योजनाबद्ध ढङ्गले आगलागीमा पारिएको र स्वदेशी तथा विदेशी केही सञ्चारमाध्यमबाट त्रुटिवस गलत समाचार सम्प्रेषण भएकामा उनले दुःख व्यक्त गरेका छन् ।