दशैका लागि बजार झर्न थाले लेकाली भेडाच्याङ्ग्रा

टुरिजमफेस
म्याग्दी । दसैँ नजिकिँदै गर्दा हिमाली क्षेत्रमा पालिएका भेडाच्याङ्ग्रा बजार झर्न थालेका छन् । किसान तथा व्यापारीहरू भेडाच्याङ्ग्राको बथान लिएर देशका विभिन्न बजारमा आइपुगेका हुन् । हिमाली भेडाच्याङ्ग्रा बजार झरेपछि दसैँ पर्व आगमनको झल्को दिन्छ ।
मुस्ताङबाट बेनी–जोमसोम सडक भएर म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरीमा ल्याइएका भेडाच्याङ्ग्रा ट्रक र कन्टेनरमा राखेर पोखरा, काठमाडौँलगायत ठूला सहरमा ढुवानी गर्न थालिएको छ । नेपाल चौपाया खरिद बिक्री सङ्घका संस्थापक अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बिहीबारसम्म एक हजार ३०० भेडाच्याङ्ग्रा काठमाडौँ पठाइएको र थप एक हजार ७०० पठाउने क्रममा रहेको जानकारी दिए ।
“दसैँका लागि काठमाडौँ, पोखरा, चितवन र बुटवलका बजारमा आउने भेडाच्याङ्ग्राको मुख्य स्रोत मुस्ताङ, जुम्ला र डोल्पा हो”, बीस वर्षदेखि भेडाच्याङ्ग्राको व्यापार गर्दै आएका श्रेष्ठले भने, “तातोपानी र रसुवानाका बन्द भएकाले ठूला सहरमा यसपालि मुस्ताङी भेडाच्याङ्ग्रामात्र झरेका छन् ।”
मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ नामग्यालबाट चार सय ६५ वटा भेडाच्याङ्ग्रा पैदल हिँडाएर ल्याएको श्रेष्ठको टोली बिहीबार म्याग्दीको बैसरी आइपुगेका छ । डोल्पाको काइके गाउँपालिका–२ सहरताराका सञ्जय बुढाले २५ दिनको पैदलयात्रा गरेर एक सय ६० वटा च्याङ्ग्रा बेच्न पोखरा हिँडेको बताए ।