एमाले अध्यक्ष ओली भन्छन्–जेनजी आन्दोलनमा प्रहरीसँग नभएको हतियार प्रयोग गरिए

फाइल तस्विर
टुरिजमफेस
काठमाडौं । जेनजी आन्दोलन दबाउन व्यापक दमन गरेको आरोप खेपिरहेका पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जेनजी आदोलनमा प्रयोग गरिएका हतियार प्रहरीका नभएको दावी गरेका छन् ।
उनको यो भनाइसँगै घटनालाई थप रहस्यमय बनाएको छ । संविधान दिवसको उपलक्ष्यमा सन्देश जारी गर्दै उनले जेनजी आन्दोलनमा प्रहरीका हतियार प्रयोग नभएको दावी गरेपछि सुरक्षाविद्हरू अब घटनालाई झनै सुक्ष्म रूपमा छानविन गर्न आवश्यक रहेको बताउँछन् । ‘युवालाई ताकी ताकी प्रहार गरिएका हतियार प्रहरीका थिएनन् भने ती हतियार कसका थिए ? र, त्यसरी हतियारको घुसपैठ हुँदासमेत ओली नेतृत्वको सरकार के हेरेर बसेको थियो ?’
नेपाल प्रहरीका एक पूर्वप्रहरी अतिरिक्त महानिरीक्षकले टुरिजमफेसँग भने, ‘ओलीजीको यस्तो प्रतिक्रिया सुन्दा अझै पनि कुनै गल्ती स्वीकार नगरी दोषजति अरुलाई नै थुपार्ने कोशिस भइरहेको प्रष्ट देखिन्छ ।’
ओलीले जेनजीलाई ताकीताकी गोली हान्ने आदेश पनि नदिएको दावी गरेका छन् । उनले यस्तो दावी गरे पनि जेनजीलाई गोली प्रहार भइसकेपछि प्रधानमन्त्रीको पदमा करिब २० घण्टा रहेका ओलीले कसैलाई पनि कारवाही गरेका थिएनन् ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ७४ जनाको मृत्यु भएको थियो । अधिकांशलाई टाउको र छातीमा गोली लागेको थियो । घटनापछि आक्रोशित युवालाई नियन्त्रणमा लिन नसकेपछि ओली सरकार छाडेर नौ दिन सेनाको सुरक्षामा बस्न बाध्य भएका थिए । नौ दिन सैनिक ब्यारेकमा बसेर फर्केपछि उनले संविधान दिवसको उपलक्ष्यमा शुभकामना सन्देश जारी गरेका हुन् । उनी हाल भक्तपुरको गुन्डुस्थित एक भाडाको घरमा बसेका छन् । उनको बालकोटको घर प्रदर्शनकारीले जलाइदिएका छन् ।
फाइल तस्विर