खानीखोला हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने अवधि थप

टुरिजमफेस
काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरेको छ । भदौ ३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा अपेक्षित आवेदन नपरेपछि अवधि थप गरिएको हो । कम्पनीको १०० प्रतिशत हकप्रद शेयरमा अब असोज ३१ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर निष्काशन गरेको छ ।
हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसको अर्थ वित्तीय दायित्व बहन गर्ने क्षमता उच्च जोखिम रहनु हो ।
हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ९३ करोड १४ लाख २८ हजार ६०० रुपैयाँ पुग्नेछ । हकप्रद शेयर निष्काशन गरी संकलन भएको रकम ऋण घटाउन, कम्पनीको वित्तीय स्थिति सुधार गर्न र ऋणसँग सम्बन्धित ब्याज खर्च घटाउन तथा इक्विटी अभिवृद्धि गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ ।