अलपत्र झोलुङ्गे पुललाई सजाएर आन्तरिक पर्यटक प्रवर्द्धन
टुरिजमफेस
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडी गाउँ नजिकैको अनौखी खोला, बीचमा कलकल बगेको पानी र माथि झुलिरहेको झोलुङ्गे पुल । रङ्गीबिरङ्गी झण्डासँग सजिएको यो पुल अहिले गाउँको नयाँ आकर्षण बनेको छ ।
कृष्णपुर–१ का कबिन्द्रसिंह धामीले आफ्नै खर्चबाट २० हजार रुपैयाँ खर्च गरेर पुल सजाएका छन । पहिले साधारण देखिने पुल अहिले फोटोग्राफी प्रेमी र आन्तरिक पर्यटकका लागि आकर्षकस्थल बनेको छ । केही समयअघिसम्म धामी कैलालीको गोदावरी पुलमा फोटोग्राफी गरेर जीविकोपार्जन गर्दै एका थिए । “काम रमाइलो भए पनि, कमाइ प्रायःबस–भाडा र खानपिनमै सकिन्थ्यो उनले भने, “किन आफ्नै गाउँमा केही नयाँ गर्न सकिँदैन भनेर सोचे, गाउँ नजिकैको अलपत्र रहेको पुललाई सजाउने निधो गरे सजाए, अहिले यो नगरपालिका क्षेत्रका बासिन्दाको आकर्षणको केन्द्र बनेको छ ।”
पर्यटक आउदा गाउँको सुन्दरता अनुभव गर्न सकुन भने उद्देश्यले पुल सजावटमा लगानी गरेको उनी बताउँछन् । “प्राकृतिक दृश्यसँगै सजावट मिसिँदा अझै सुन्दर फोटो आउँछ,” उनी भन्छन्, “त्यै भएर पर्यटकले यस क्षेत्रलाई गन्तव्य बनाएका छन ।”
धामी यतिमै रोकिएका छैनन् । उनको अर्को योजना नजिकैको पक्की पुललाई पनि झण्डा र रङ्गीन सजावटले आकर्षक बनाउने रहेको छ ।
पुलमा सजावट गरिएपछि दैनिक सयौँ मानिस घुम्न आउन थालेका छन् । फोटो खिच्नेको भीडले गाउँमा नयाँ उत्साह ल्याएको स्थानिय रामबहादुर साउदले बताए ।
“अलपत्र अबस्थामा रहेको पुल पर्यटकको गन्तव्य बनेको नै छ” उनले भने, “गाउँका बासिन्दाको आय आर्जनमा बृद्धि हुन थालेको छ, गाउँमा उत्पादन भएका फलफुल, खाद्य सामग्री बिक्री हुन थालेका छन ।”
पुलमै मोवाइल फोनको क्यामेरामा सेल्फी लिदै गरेका भेटिएका टेकबहादुर साउद भन्छन्, “पहिले हाम्रो गाउँ सामान्य मात्र थियो, तर अब पुलले नयाँ पहिचान दिएको छ, यो केवल फोटो खिच्ने ठाउँ मात्र रहेन, हाम्रो गाउँको पर्यटन विकासको आधार बन्न थालेको छ ।”
तीनतर्फ नदीले र अर्कोतर्फ घना वन क्षेत्रले जोडिएको बेलडाँडी गाउँ जोडनका लागि दशकअघि झोलुङ्गे पुल निर्माण गरिएको थियो । निर्माण भएको वर्ष दिन नपुग्दै त्यस नजिकै पक्कि मोटेरेवल पुल बनेपछि झोलुङ्गे पुलमा आवतजावत बन्द भएको थियो ।
त्यस पुललाई नगरपालिको अन्यत्र लगेर जडान गर्न चासो नदेखाएपछि अलपत्र अबस्थामै थियो । छिमेकी गाउँका युवाले पुल सजावट गरिदिएपछि यसले चर्चा पाएको साउदको भनाइ रहेको छ ।
