पर्यटकीयस्थलबाट अन्नपूर्ण गाउँपालिकाले गर्यो एक करोड १५ लाख आम्दानी
टुरिजमफेस
म्याग्दी । चालु आर्थिक वर्ष २०८२-८३ मा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय स्थलहरुबाट रु एक करोड १५ लाख आम्दानी गरेको छ ।
अन्नपूूर्णमा रहेका पर्यटकीयस्थल पुनहिल, भुरुङ्ग–तातोपानी, पाउद्वार र रातोपानी कुण्डमा प्रवेश शुल्क सङ्कलन, होटल र चिया पसल सञ्चालनका लागि आय ठेक्का लगाएर सो आम्दानी भएको गाउँपालिकाले जनाएको छ ।
पुनहिल, पाउद्वार र रातोपानीको आय ठेक्का सम्झौता भइसकेको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए । उनका अनुसार भुरुङ्ग–तातोपानी कुण्डमा प्रवेश शुल्क सङ्कलन र चमेनागृह सञ्चालन गर्न रु ५० लाख एक हजारमा ठेक्का कबोलेको होटल हटस्पिरिङ इनसँग दसैँलगत्तै सम्झौताको तयारी भएको छ ।
अन्नपूूर्ण–६ स्थित पुनहिलमा प्रवेश शुल्क र चिया पसल सञ्चालनका लागि रु ५० लाख, पाउद्वार तातोपानी कुण्डको रु २५ लाख र रातातोपानीको रु तीन लाख न्यूनतम शूल्क कायम गरेर ठेक्का आह्वान भएको थियो ।
सबै पर्यटकीयस्थलको ठेक्कामा न्यूनतमभन्दा थोरै मात्र बढी कबोलेका व्यवसायीले अग्रिम रुपमा राजस्व जम्मा गरेर कानुनअनुसार १० प्रतिशत छुट पाएका छन् । रु ५० हजार आम्दानी हुने अनुमान गरिएको सेकार्कु तातोपानी, रु १५÷१५ हजार आय ठेक्काको रकम कायम भएको नारच्याङ र महभिर झरनामा चमेनागृह सञ्चालन गर्न कसैको पनि प्रस्ताव नपरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले बताए ।
