जेनजी आन्दोलनको दुई दिनअघि प्रचण्डले घरबाट दुई ट्रक नगद अन्यत्र लिएका थिए भन्ने अन्तरवार्ता दिएका पूर्वएआइजी देवेन्द्र सुवेदीविरुद्ध साइबर ब्युरोमा उजुरी

टुरिजमफेस
काठमाडौं । जेनजी आन्दोलनको दुई दिनअघि नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले घरबाट दुई ट्रक नगद अन्यत्र लिएको भन्ने अन्तरवार्ता दिएका नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआइजी) देवेन्द्र सुवेदीविरुद्ध साइबर ब्युरोमा उजुरी परेको छ । प्रचण्डको सचिवालयले सुवेदीविरुद्ध उजुरी दिएको हो ।
माओवादी केन्द्रका नेता लेखनाथ दाहालले सार्वजनिक सञ्चार माध्यममार्फत पार्टी नेतृत्वविरुद्ध भ्रमपूर्ण र झुटा आरोप लगाएकाले सुवेदीविरुद्ध उजुरी दिएको बताए ।
जेनजी आन्दोलनका क्रममा खुमलटारस्थित प्रचण्डको घर जलाउने क्रममा अन्य नेताको तुलनामा कम मात्रामा नगद जलेको चर्चा छ । यद्यपि यसबारे प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ । सुवेदी माओवादी द्वन्द्व कालमा द्वन्द्वग्रस्त क्षेत्रमा काम गरेका प्रहरी अधिकृत हुन् ।